ओखलढुंगामा लैंगिक हिंसा रोकथामका लागि सम्पुर्ण एकजुट भएर लाग्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । जिल्ला स्तरीय लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य समन्वय बैठकमा जिल्लाका सरोकारलाले उक्त प्रतिवद्धता जनाएका हुन् ।
जिल्ला समन्वय समिति ओखलढुंगाको समन्वय तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा सञ्चालित मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) परियोजनाको आयोजनामा बैठक बसेको थियो ।
बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लैंगिक हिसा रोकथामका लागि ठोस र प्रभावकारी कार्यक्रम गर्न स्थानीय सरकारले सहयोग र समन्वयलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
लैंगिक हिंसा न्युनिकरणका लागि निवारण कोषमा स्थानिय तहहरुले आर्थिक सहयोग गरेका छन् । चालु आर्थिक वर्षका लागि सिद्धिचरण नगरपालिकाले दुई लाख ५० हजार, मानेभञ्ज्याङले दुई लाख ५० हजार, चिशंखुगढीले दुई लाख ५० हजार र मोलुङ गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेका हुन् ।
सेफ हाउस, ओसीएमसी र सीएमसी नोपालको दिगोपना तथा प्रभावकारी बनाउने, कार्यबिधि संशोधन गर्ने, महिला नेतृत्व विकास गर्ने, लैंगिक हिंसा न्यूनिकरणका लागि स्थानीय तहले समन्वय र पहल गर्ने लगायतका सात वटा विषयमा प्रतिवद्धता भएको सीएमसी नेपालका स्वास्थ्य संयोजक घनश्याम शर्माले बताए ।
जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया