ओखलढुंगामा ६८ हजार पशुलाई महामारी रोग विरुद्धको खोप लगाइयो

ओखलढुंगामा ६८ हजार पशुलाई महामारी रोग विरुद्धको खोप लगाइयो



ओखलढुंगाका पाँच वटा स्थानिय तहमा ६८ हजार पशुलाई महामारी रोग विरुद्धको खोप लगाइएको छ । करिब एक महिनाको अवधिमा जिल्लाका आठ स्थानिय तह मध्ये पाँच वटामा ६८ हजार १९५ घरपालुवा पशु चौपायालाई महामारी रोग विरुद्धको खोप लगाइएको हो ।

सिद्धिचरण नगरपालिका, चिशंखुगढी, सुनकोशी, चम्पादेवी र लिखु गाउँपालिकाका किसानले पालेका पशुचौपायालाई खोप लगाईएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका सूचना अधिकारी धिरेन राईले बताए । बाँकी मानेभञ्ज्याङ, मोलुङ र खिजिदेम्बा गाउँपालिकामा पनि खोप अभियान सञ्चालनको तयारी भईरहेको राईको भनाई छ ।

पशुहरुलाई पीपीआर, खोरेत र क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाइएको छ । ४२ हजार पशुलाई पीपीआर, २४ हजार ९७० लाई खोरेत र एक हजार २२५ पशुलाई क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाइएको सूचना अधिकारी राईले जानकारी दिए ।

सिद्धिचरण नगरपालिकामा नौं हजार ५०० लाई पीपीआर, चार हजारलाई खोरत र ६२५ पशुलाई क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाइएको छ । चम्पादेवी गाउँपालिकामा आठ हजारलाई पीपीआर, आठ हजारलाई खोरत र १०० वटा घरपालुवा पशुलाई क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाइएको विवरण छ ।

सुनकोशी गाउँपालिकामा आठ हजारलाई पीपीआर, तीन हजार ३५० लाई खोरत र १०० पशुलाई क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाइएको छ ।

यस्तै लिखु गाउँपालिकामा आठ हजार ५०० लाई पीपीआर, दुई हजार ६२० लाई खोरत र १०० पशुलाई क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाइएको छ । चिशंखुगढी गाउँपालिकामा आठ हजारलाई पीपीआर, खोरेत सात हजार र ३०० पशुलाई क्लासिकलन स्वाइन फिभर विरुद्धको खोप लगाइएको कार्यालयले जनाएको छ ।