आगलागीको घटना न्युनिकरणका लागि ओखलढुंगा प्रहरीले विषेश अभियान थालेको छ । सार्वजनिक स्थालहरुमा सचेतनामूलक पर्चा टाँसेर आगलागी रोकथामका लागि प्रहरीले सचेतनामुलक अभियान थालेको छ । सुख्खा मौसममा आगलागीको बढी जोखिम हुने भएकाले प्रहरीले सचेनता अभियान मार्फत घटना न्युनिकरणको प्रयास थालेको हो ।
डिभिजिन वन कार्यालय ओखलढुंगाको सहकार्यमा “वन डढेलो रोकौँ, वन जङ्गल र जैविक विविधताको संरक्षण गरौँ” भन्ने नारासहित प्रहरीले सचेतना अभियान थालेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए । अधिकांश आगलागीका घटना मानविय लापरवाहीका कारण हुने भएकाले क्षति र असर न्युनिकरण साथै कारबाहीका बारेमा कानुनी सचेतना जगाउन सार्वजनिक स्थलहरुमा पर्चा टाँस गरिएको प्रनाउ खड्काको भनाई छ ।
वन कार्यालयसँगको समन्वयमा १२ सय सन्देशमुलक पर्चा तयार गरि नागरिकले देख्ने स्थानमा टाँस्ने अभियानमा प्रहरी रहेको प्रमुख खड्काले बताए । आगलागी नियन्त्रण तथा वन डढेलो रोकथामका लागि प्रहरीले अन्य अभियान पनि गरि रहेको छ ।
समयमै नागरिकलाई सचेत गराएर आगलागी र डढेलोका घटना न्यूनिकरण गर्ने उद्धेश्यले सचेतना अभियानमा जोड दिइएको डिभिजन वन कार्यालय प्रमुख रितेष भूषण बस्नेतले बताए । स्थानिय तह साथै सामुदायिक वन समूहहरु सँगको समन्वयमा अग्नी निरोधक रेखा बनाउने, रिचार्ज पोखरी निर्माण लगायतका काम भइरहेको प्रमुख बस्नेतको भनाई छ ।
प्रतिक्रिया