संविधानमा महिला अधिकारको बारेमा अन्तर सम्वाद गरिएको छ । सुनकोशी गाउँपालिका ओखलढुङ्गाले ११५औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संविधानमा महिला अधिकारको व्यवस्था बारेमा अन्तर सम्वाद गरेको हो ।
सम्वादमा नेपालको संविधान तथा अन्तर्राष्ट्रिय सन्धी सम्झौता द्वारा प्रदत्त महिला अधिकार कार्यान्वयन र चुनौतिका विषयमा छलफल गरिएको छ । नेपाली काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), अखिल नेपाल महिला संघ महासचिव तथा संविधानसभा सदस्य पेम्बा लामा र नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य चम्पा कार्की र नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष बाला अधिकारी प्रमुख वक्ता थिए ।
सहभागीहरुले राजनितिमा महिला नेतृत्वलाई गठबन्धनले ओझेलमा पार्ने काम गरेको विषयमा जिज्ञासा राखेका छन् । जवाफमा नेता उपाध्याय सहितका वक्ताहरुले समतामुलक समाज निर्माणका लागि केहि खुड्किलाहरु पार भए पनि संविधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयन हुन बाँकी रहेको उल्लेख गरेका छन् । अधिकार प्राप्तिका लागि आफुहरु आन्दोलनमै रहेको उनिहरुले बताएका छन् । स्थानीय सरकार बाट महिला अधिकारहरुको सुनिश्चिता गर्दै जानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
नेतृत्वमा रहेका महिलाहरुलाई थप सचेत र जागरुक गराउन तथा समुदाय स्तरमा महिला अधिकारबारे सचेतना जगाउन अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले बताईन् । जिल्ला, प्रदेश तथा केन्द्रिय तहका महिला अधिकारकर्मी, राजनितिक नेतृत्वमा रहेका महिला नेताहरुलाई उपस्थित गराई कार्यक्रम गरिएको उपाध्यक्ष अधिकारीको भनाई छ ।
संविधान सभा सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश सांसद प्रदिप कुमार सुनुवार, जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई लगायतका अतिथिहरु कार्यक्रमा सहभागि भएका थिए । संविधानमा महिला अधिकार बारे स्पस्ट उल्लेख भए पनि व्यवहारमा कार्यन्वयनको क्रम फितलो रहेको सरोकारवालाहरुले उल्लेख गरेका छन् । महिला अधिकार सुनिश्चि गर्ने र महिला लक्षित कार्यक्रम गर्ने विषयमा सुनकोशी गाउँपालिका जिल्लामै पहिलो रहेको गाउँपालिका अध्यक्ष कमल तामाङले दावि गरेका छन् ।
अन्तर सम्वाद कार्यक्रमको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार महिला साथै गाउँपालिकाका अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरुलाई सम्मान गरिएको छ । आफ्नो एफएमकी स्टेशन म्यानेजर विनुमाया राई, थाइल्यान्डको बैककमा सम्पन्न १९ औँ विश्व मुवाथाई च्याम्पियनको उपधि विजेता सुनकोशी गाउँपालिका–३ का गुणराज रुचाल र भारतको नयाँ दिल्लीमा सम्पन्न फोर्थ बाको इन्डिया खुल्ला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको तर्फबाट कास्य पदक विजेता वडा नं.४ का चिरण राईलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया