चित्रकला मार्फत पर्यटकीय स्थलको प्रवर्धन

चित्रकला मार्फत पर्यटकीय स्थलको प्रवर्धन



पर्यटन प्रवर्धनका लागि अनेक उपाय अपनाइएका छन्, तर पछिल्लो समय चित्रकला पनि प्रवद्र्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार साथै विभिन्न संघसंस्थाले नेपालका प्रसिद्ध पर्यटकीय स्थलहरूलाई क्यानभासमा उतार्दै विश्वभर फैलाउने अभियान सुरु गरेका छन् ।

यस अभियान अन्तर्गत १५ फागुनमा नेपालका चर्चित चित्रकार तथा मुर्तिकार धनु याक्खाको समूह ओखलढुङ्गा आईपुगेको थियो । उनी सँग लिथोआनिया देशका चित्रकार मारियस र नेपालकै चर्चित चित्रकार विवेक मुकारुङ पनि थिए ।

ओखलढुङ्गाको ठाँडे, जन्तरधाप र सोलुखुम्बुको पत्ताले बाट देखिने हिमश्रृंखलाको मनोरम दृश्यको प्रत्यक्ष रूपमा (लाईभ) चित्र बनाउनका लागि उनिहरु यहाँ आएका हुन् । जहाँ बाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित हिमश्रृंखलाहरुको मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।

चित्रकार, मुर्तिकार याक्खा सहित लिथुआनिका नागरिक चित्रकार मारियस र नेपाली कलाकार मुकारुङले आ–आफ्ना कुची चलाएर यस क्षेत्रका गन्तव्यको सुन्दरतालाई उजागर गर्ने गरि प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा तथा जनजीवन झल्कने चित्रहरू तयार पारेका छन् । उक्त चित्रहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी मार्फत पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिने चित्रकार याक्खाले बताए ।

पर्यटकको आँखाले अहिलेसम्म नदेखेका स्थलहरूलाई चित्रमार्फत उजागर गर्ने प्रयास गरिएको चित्रकार याक्खाले बताए । याख्खाका अनुसार, दिगो पर्यटन विकासका लागि विभिन्न ठाउँहरूमा पुगेर चित्र निर्माण गरि देश तथा विदेशका पर्यटकहरुलाई आकर्षित गर्ने काम गरिएको छ ।

निकट भविष्यमा ओखलढुङ्गा अर्थात सोलुखुम्बुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई सहभागी गराई प्रत्यक्ष रूपमा (लाईभ) चित्र बनाउने विषेश कार्यक्रमको आयोजना गर्ने योजना रहेको कलाकार याक्खाले जानकारी दिए । पछिल्लो समय युवा तथा बालबालिकाहरु समेत चित्रकला, मुर्तिकला तर्फ आकर्षण बढ्न थालेको कलाकार याक्खाले बताए । याक्खाको नेतृत्वमा देश तथा विदेशका चित्रकारहरुको नेपालको विभिन्न जिल्लाहरुमा सामुहिक प्रत्यक्ष चित्र बनाउने कार्यक्रम भएका थिए ।