खिजीदेम्बा सांस्कृतिक महोत्सवको तयारी पूरा

भिजन समाचार
2
Shares

आदिवासी समुदायको सभ्यता, इतिहास र पहिचानलाई उजागर गर्ने हेतुले आयोजना गर्न लागेको खिजीदेम्बा सांस्कृतिक महोत्सव–२०८१ को तयारी भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, गाउँपालिका समन्वय परिषद्, खिजीदेम्बाको आयोजनामा फागुन ७ गतेदेखि ९ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो ।

बहुलजाती, भाषा, संस्कार, संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजीदेम्बा निर्माणका लागि सामुहिक अभियान’ भन्ने नारासहित हुने महोत्वसको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष कमलकृष्ण तामाङले जानकारी दिए ।

खिजीदेम्बा गाउँपालिकाको आर्थिक सहयोगमा खिजीदेम्बा ५ खिजीफलाटे बजारमा आयोजना हुने कार्यक्रममा तामाङ, शेर्पा, गुरुङ, सुनुवार, नेवार, भुजेल लगायत विभिन्न जातजातिको सांस्कृतिक प्रतिस्पर्धा हुने अध्यक्ष तामाङको भनाई छ । त्यस्तै, विभिन्न जातजातिको परिकार, सांस्कृतिक प्रस्तुती, विभिन्न पर्यटकीय क्षेत्रको प्रदर्शनी लगायत रहने सचिव कुसाङ शेर्पाले बताए ।

आदिवासी जनजातिहरुको प्रथाजनित कानूनहरुको संरक्षण, संस्कृतिको उत्थान, प्रबद्र्धन र सम्बद्र्धन गर्दै पहिचान र सभ्यतालाई उजागर गरी सशक्तिकरणको माध्यमबाट राज्यमा समान पहुँच स्थापित गर्न सघाउ पुर्याउन योगदान पुगोस भन्ने हेतुले गाउँपालिकाले महोत्सव आयोजना गर्ने कार्यक्रम अघि बढाइएको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।

महासंघ, संघीय परिषद्, अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने कार्यक्रममा १५ भन्दा बढी जातीय सांस्कृतिक कलाकारको प्रतिस्पर्धा रहने र कार्यक्रमका लागि जातीय समूहका निर्णायकहरु समेत खिजीफलाटे आइसकेका छन् ।