ओखलढुंगामा नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सुरु गरिएको छ । ‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दिर्घ जीवन बाँचौ’ भन्ने नाराका साथ जिल्लाको सिद्धिचरण नगरपालिकाबाट यो अभियान सुरु गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा र सिद्धिचरण नगरपालिकाकोे आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा अभियानको थालनी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेल र जिल्ला स्वास्थ्य प्रमुख मोहम्मद मन्सुर अन्सारीद्वारा संयुक्त रुपमा एक महिने अभियानको उद्घाटन गरिएको अभियानका फोकल पर्सन राकेश कुमार पटेलले जानकारी दिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रशासकीय अधिकृत पौडेलले सरकारले देशका नागरिकलाई बेलैमा रोगको पहिचान गरेर स्वस्थ बनाउने लक्ष राखेकोले सरोकारवाला सबैले सेवा लिन आग्रह गरे ।
अभियानले जनस्तरमा सचेतना फैलाउन र आफ्नो स्वास्थ्यको ख्याल राख्न मद्दत गर्ने साथै नसर्ने रोगका कारण अल्पायुमा हुने मृत्यु तथा अपाङ्गता कम गरी खर्चमा समेत कमी ल्याउने उनको विस्वास छ ।
यस्तै जिल्ला स्वास्थ्य प्रमुख अन्सारीले समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिस्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च भइराखेकोले त्यसको जोखिम कम गर्न अभियान प्रभावकारी हुने विस्वास व्यक्त गरे । परिक्षणबाट जटिल रोग देखिएमा बेलैमा अस्पताल गएर उपचार गराई स्वस्थ रहन उनको सुझाव छ ।
नसर्ने रोगहरु जस्तै मधुमेह, रक्तचाप, मिर्गौलासम्बन्धी रोगको पहिचान गर्ने अभियान सुरु भएकाले स्वस्थ र दिर्घ जीवनको लागि जिल्ला प्रशासनमा स्थापना गरिएको केन्द्रमा आएर स्वास्थ्य परिक्षण गराउन सिद्धिचरण नगरपालिका स्वास्थ शाखाका जनस्वास्थ्य निरीक्षक आइत बहादुर राईले आग्रह गरे ।
सोमबार केहि नागरिकहरुको परिक्षण गरिएको र मंगलबार देखि फागुन मसान्तसम्म अभियान जारी रहने जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ । अभियान सुरु गर्ने पहिलो पालिका सिद्धिचरण नगरपालिका भएको र बाँकी पालिकाले पनि छिट्टै सुरु गर्ने बताइको छ । अभियानमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा नसर्ने रोगको जोखिमको अवस्था शरीरको उचाई र तौल अनुपात परिक्षण गरिनेछ ।
प्रतिक्रिया