ओखलढुङ्गाको सदरमुकाममा लाग्ने साप्ताहिक हटियामा स्थानिय उपज विक्री केन्द्र स्थापना गरिएको छ । जिल्लाका किसानले उत्पादन गर्ने तरकारी लगायत फलफूल विक्रीका लागि छुट्टै विक्री केन्द्र निर्माण गरिएको हो ।
सिद्धिचरण नगरपालिकाले वडा नं. १२ मा लाग्ने हटियामा तरकारी तथा फलफूल विक्री केन्द्र निर्माण गरेको छ । चालु आर्थिक वर्षमा विनियोजित २२ लाख ५३ हजार ६२५ रुपैयाँ लगानीमा केन्द्रको स्थापना गरिएको सिद्धिचरण नगरपालिका–१२ का वडा अध्यक्ष उमंग श्रेष्ठले बताए । आगामी दिनमा आवश्यकता अनुसार स्थानिय उत्पादनलाई प्रोत्साहान हुने संरचना निर्माण गर्ने योजना रहेको वडाअध्यक्ष श्रेष्ठले बताए ।
आज शनिबार मेयर तेजेन्द्र खनालले केन्द्रको उद्घाटन गरेका छन् । कृषकहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर केन्द्रको निर्माण गरिएको मेयर खनालले बताए । जिल्लामै उत्पादन भएका कृषि उपजलाई विक्री गर्न र बजारीकरणका लागि सहज हुने विश्वास गरिएको मेयर खनालको भनाई छ ।

यस अघि कृषकहरुले सडक किनारमा बसेर तरकारी तथा फलफूल विक्री गर्ने गरेका थिए । घाम, पानी र धुलोमा सडकमा बसेर कृषि उपज विक्री गर्नुपर्ने बाध्यता हटेको कृषकहरुले प्रतिक्रिया दिएका छन् । जिल्ला सदरमुकाममा सातामा शनिबार र बुधबार हटिया लाग्ने गर्छ ।
नगरपालिकालको विगुटार, ज्यामिरे, वर्णालु, जन्तरखानी, बेतेनी, ठुलाछाप र अधेरी नारायणस्थान लगायतका गाउँहरुका किसानले तरकारी र फलफूलको व्यवसायीक खेती गर्ने गरेका छन् ।
प्रतिक्रिया