स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार ओखलढुंगाको सिद्धिचरण नगरपालिका प्रथम भएको छ । जिल्लाका आठ स्थानिय तह मध्ये नगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरेको नतिजा हालै सार्वजनिक गरेको थियो ।
सिद्धिचरण नगरपालिकाले ७५.१ अंक प्राप्त गर्दै प्रथम बनेको छ । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादनका विभिन्न १७ सूचकलाई मूल्याङ्कन गर्दा जिल्लाको चम्पादेवी गाउँपालिकाले भने सबैभन्दा कम ४८.७ अंक पाएको छ ।
चिशंखुगढी गाउँपालिका ६७.३, खिजीदेम्बा गाउँपालिका ५९.८, मानेभन्ज्याङ गाउँपालिका ५५.६, लिखु गाउँपालिका ५४.३, सुनकोशी गाउँपालिका ५३.३, मोलुङ गाउँपालिकाले ५१.१ अंक प्राप्त गरेका छन् ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिन रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन अङ्क प्रदान गर्दछ । जसअनुसार वित्त आयोगले आर्थिक वर्ष २०८२÷०८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको छ ।
कार्यसम्पादनका क्रममा गाउँ तथा नगरपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगरसभामा पेस गरेको देखी आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरेका १७ सूचकलाई आधार मानेर अङ्क प्रदान गरिएको छ ।
प्रतिक्रिया