ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रादेशिक अस्पताल बन्ने कुराले यहाँका स्थानिय हर्षित थिए । कोशी प्रदेशको माथिल्लो पहाडी चार जिल्लाहरु सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र उदयपुरलाई लक्षित गरेर प्रादेशिक अस्पताल बन्ने चर्चा थियो ।
चिकित्सा शिक्षा समेत अध्ययन अध्यापन गर्ने गराउने लक्ष्य सहित बन्न लागेको प्रादेशिक १५० सैयाको अस्पतालको लागि जग्गाको निःशुल्क खोजी हुँदा टोक्सेलका ३४ जना स्थानियले १६६ रोपनी जग्गा उपलब्ध गराएका थिए । करिब चार वर्ष अघि उक्त जग्गा प्रदेश सामाजिक विकास मन्त्रालयको नाममा स्थानियले निःशुल्क रजिष्ट्रेशन पास गरेर दिएका छन् ।
दाताले निःशुल्क जग्गा उपलब्ध गराए पनि बर्षोँ देखी प्रदेश बाट बजेट नआउदा अस्पताल नबन्ने हो की भन्ने कुरामा यहाँका स्थानियमा आशंका पैदा भएको स्थानिय नयन गौतमले बताए । हाल सम्म प्रदेश बाट आएको ४५ लाख बजेटले स्थानियले उपलब्ध गराएको केही जग्गा सम्याउने काम भएको बाहेक अरु काम हुन नसकेको गौतमको भनाई छ । “प्रादेशिक अस्पताल बन्ने हर्षले यहाँका स्थानियले गास काटेर उब्जाउ बारी मासेर निःशुल्क दिएका थिए,” गौतमले भने “अब नबन्ने पो हो की आशंक सुरु भएको छ ।”
जग्गा प्राप्तिसँगै अस्पतालको डीपीआर समेत निर्माण भइसकेको पुर्व प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ का सांसद तथा अर्थसमिति सभापति मोहनकुमार खड्काले बताए । तत्कालिन प्रदेश सरकारबाट विनियोजित २२ लाख बजेटले डीपीआर निर्माण भएको खड्काको भनाई छ । करिब दुई अर्ब बढी लागतमा चिकित्सा शिक्षालय सहितको प्रादेशिक अस्पताल निर्माण सम्पन्न हुने डीपीआर बनेको खड्काले जानकारी दिए ।
मध्ये पहाडी लोकमार्ग नजिकै र चार पाँच वटा जिल्लाको पाएक पर्ने स्थान भएकाले जसरी भए पनि प्रादेशिक अस्पताल बनाउन सबै जना लाग्नु पर्ने पुर्व सांसद खड्काले बताए । अस्पताल निर्माणका लागि सम्बन्धीत निकायमा जन दवाब दिन आवश्यक रहेको खड्काको भनाई छ । पहाडी जिल्लाहरुमा सम्भावित सडक दुर्घटनामा परेकालाई उपचार गर्ने, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रादेशिक अस्पताल बनाउने योजना ल्याईएको पुर्व सांसद खड्काले जानकारी दिए ।
अघिल्लो सरकारले ओखलढुङ्गामा प्रादेशिक अस्पताल बनाउने योजना ल्याएको र त्यसको निरन्तरर्ता दिने विषयमा आफु लागि परेको कोशी प्रदेशका पुर्व सभामुख एवम् प्रदेश ‘ख’ सांसद बाबुराम गौतले बताए । “अस्पतालको करिब दुई अरबको डीपीआर बनेको रहेछ, यत्रो धेरै बजेटको योजना सम्पन्न हुने सम्भावना छैन लागत घटाएर भए पनि अस्पताल निर्माण गर्नुपर्छ,” गौतमले भने “कुनै पनि हालतमा पहाडी क्षेत्रमा सुविधा सम्पन्न अस्पताल बनाउन आवश्यक छ ।” वर्षमा तीन करोडको दरले बजे विनियोजन भए पनि यो योजना सम्पन्न हुन करिब ३३ वर्ष लाग्ने गौतमले जानकारी दिए । त्यसैले लागत घटाएर अस्पताल बनाउन आवश्यक रहेको सांसद गौतमको भनाई छ ।
प्रादेशिक अस्पताल निर्माणका लागि जग्गाको व्यवस्था भईसकेको अवस्थामा जसरी भए पनि प्रदेश सरकार मार्फत योजना सम्पन्न गर्नु पर्ने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघिय सांसद रामहरि खतिवडाले बताए । “प्रदेशले अस्पताल निर्माण गर्न नसक्ने भए नसक्ने निर्णय गरोस् संघ बाट काम गर्ने पहल गरिन्छ,” खतिवडाले भने “जनताको जग्गा अधिक्रमण गरेर त्यतिकै छोड्न मिल्दैन ।” बहुसंख्यक पहाडी जिल्लाका प्रत्यक्ष लाभान्वीत हुने गरि बन्न लागेको प्रादेशिक अस्पताल निर्माणको योजना जसरी भए पनि संघ र प्रदेश मिलेर पुरा गर्नुपर्ने खतिवडाको भनाई छ ।
पुर्व स्वास्थ्यमन्त्री तथा कोशी प्रदेश सांसद प्रदिप कुमार सुनुवारले अस्पतालको डिपिआर, संरचना साथै आवश्यक जशक्तिका विषयमा आवाज उठाएका छन् । बन्न लागेको अस्पतालको स्पष्ट खाका र योजनाका बारेमा सांसद सुनुवारले सदनमा जिज्ञासा राखेका हुन् ।
अस्पतालको निर्माण सम्पन्न भएको खण्डमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुलीको पुर्वि क्षेत्रका नागरिकले हाल भोग्दै आउनुभएको स्वास्थ्य समस्या केहि हद सम्म सहज हुने विश्वास गरिएको छ ।
यस क्षेत्रका नागरिकले विशेषज्ञ चिकित्सकको सेवा लिन काठमाण्डौ लगायतका शहर पुग्नु पर्ने बाध्यता छ । जिल्लामै बन्न लागेको प्रादेशिक अस्पतालको बारेमा कतिपय जप्रतिनिधी र स्थानिय सरकारले चासो नदिएको स्थानियले गुनासो गरेका छन् । अस्पताल निर्माणका लागि सम्बन्धित निकाय गम्भीर नबनेको उनिहरुको आरोप छ ।
प्रतिक्रिया