पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई लगाईने (एचपीभी) खोप अभियान जिल्लाको चार स्थानिय तह बाट प्रारम्भ हुने भएको छ । आज देखी सिद्धिचरण नगरपालिका, चिशंखुगढी, चम्पादेवी र लिखु गाउँपालिकामा खोप अभियान सञ्चालन हुने भएको हो ।
भोली देखी बाँकी रहेका सुनकोशी, खिजिदेम्बा, मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकामा खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका प्रमुख कर्मचन्द्र राजवंशीले बताए । यी पालिकाहरुमा बालबालिकालाई नियमित खोप आभियान सञ्चालन भईरहेकोले एक दिन पछि एचपीभीको खोप अभियान सुरु भएको प्रमुख राजवंशीले जानकारी दिए ।
सम्पुर्ण स्थानिय तहहरुमा २७ गते सम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानका लागि सम्पुर्ण तयारी पुरा भएको प्रमुख राजवंशीले बताए । भ्याक्सीन सम्बन्धीत पालिकाहरुमा पुगि सकेको र आवश्यक जनशक्तिको व्यवस्थापन भईसकेको राजवंशीले जानकारी दिए ।
विद्यालय तहका कक्षा ६ देखी १० सम्मका र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने छ । विद्यालय, स्वास्थ्य चौकी र अन्य स्थान गरि २१३ खोप केन्द्र बाट ओखलढुंगाका सात हजार २०१ किशोरीलाई खोप लगाउने योजना रहेको कार्यालय प्रमुख राजवंशीले बताए । खोप अभियान सफल बनाउन सहयोगका लागि सम्पुर्ण सरोकारवालाहरुलाई स्वास्थ्य कार्यालय रुम्जाटारले अनुरोध गरेको छ ।
प्रतिक्रिया