विशेष हिन्दु धर्मालम्बीहरुले ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवीका रुपमा स्वरस्वती लाई मान्छन् । हिन्दुहरुको आस्थाकी देवी सरस्वतीको मन्दिरलाई बौद्धधर्म विधि अनुसार पुजापाठ र उद्घाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका–१० सोलुखुम्बुको फतान्जे आधारभूत विद्यालयमा निर्माण गरिएको सरस्वतीको मन्दिरलाई बौद्धधर्म विधि अनुसार उद्घाटन गरिएको हो ।
वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा विद्यालयमा निर्माण गरिएको मन्दिरलाई बौद्धधर्म विधि अनुसार पुजा गरि उद्घाटन गरिएको प्रधानाध्यापक कृष्ण मगरले बताए । वडाध्यक्ष होमबहादुर मगर र बौद्ध धर्म गुरु आङबाबु लामाद्वारा बौद्धधर्म विधि अनुसार पुजापाठ गरेर मन्दिरको उद्घाटन गरिएको प्रधानाध्यापक मगरले जानकारी दिए ।
हिन्दुको मन्दिर बौद्धधर्म विधि अनुसार पुजापाठ गरेर उद्घाटन गरिएको यो पहिलो उदाहरण हुन सक्ने नेपाल शेर्पा संघ केन्द्रिय सचिव लाक्पा जी शेर्पाले बताएका छन् । उक्त विद्यालय आसपासमा मगर र शेर्पा समुदायको बाहुल्यता रहेका कारण उनिहरुले बौद्धधर्म मान्ने भएकाले बौद्ध विधि अनुसार हिन्दु मन्दिरको उद्घाटन भएको हुन सक्ने सचिव शेर्पाको भनाई छ । एक धर्मले अर्को धर्मलाई सम्मान गर्न सकिने गतिलो उदाहरण यहाँ देखिएको सचिव शेर्पाले बताए ।
विद्यालय परिसरमा करिब एक लाख २० हजार लागतमा मुर्ती सहितको सरस्वतीको मन्दिर निर्माण गरिएको सहायक प्रधानाध्यापक दोर्जी शेर्पाले जानकारी दिएका छन् ।
(प्रशिक्षार्थी पत्रकार)
प्रतिक्रिया