ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाईने भएको छ । खिजिदेम्बा गाउँपालिकामा जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य तिव्र रुपमा अघि बढि रहेको छ ।
गाउँपालिकाको वडा नं. १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण गरिएको हो । साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दुत सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा नेपाल नेसनल माउण्टेन गाईड एसोसिएसनका आठ जना गाईडहरुले उक्त भीरमा क्लाइम्बिङ रुट निर्माण गरिरहेका छन् ।
एसोसिएसनका तीन जना अन्तर्राष्ट्रिय र पाँच जना राष्ट्रिय रक गाईड तथा प्राविधिकहरुले करिब ५५ मिटर लामो चार वटा मल्टी पिच र आठ वटा सिंगल रुट निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । अहिले रक गाईडहरु मार्फत रुट निर्माण र सरसफाईको काम अन्तिम चरण पुगेको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा १० लाख बजेट विनियोजन गरेर सुरी भीरमा रक क्लाइम्बिङ सेन्टर निर्माणको कार्य अघि बढाईएको अध्यक्ष शेर्पाको भनाई छ । आगामी आर्थिक वर्षमा थप रुट र आवश्यक संरचना निर्माण गरि रक क्लाइम्बिङ महोत्सवको आयोजना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याई उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
यहाँ रक क्लाइम्बिङको प्रशिक्षण दिन मिल्ने गरि संरचनाहरु निर्माण गर्ने योजना बनाईएको छ । रक क्लाइम्बिङ सेन्टर सञ्चालनमा आए सँगै साहासिक खेल पर्यटन मार्फत गाउँपालिकाको आर्थिक समृद्धि हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । गत आर्थिक वर्षमा रक क्लाइम्बिङ सेन्टर निर्माणका लागि गाउँपालिकाको नौ वटै वडामा सम्भाव्यता अध्ययन गरिएको थियो ।

प्रतिक्रिया