जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ६० जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक बर्षको करिब सात महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दाका फरार ६० फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरेर ओखलढुंगा प्रहरीले बार्षिक लक्ष भन्दा धेरै संख्यामा फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख बिच आर्थिक वर्ष २०८१/०८२ को लागि भएको कार्यसम्पादन संझौता बमोजिम ५९ जना फरार प्रतिवादीहरु पक्राउ गर्नुपर्ने लक्ष दिइएकोमा ६० जना फरार प्रतिवादी पक्राउ गरिएको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नाउब उपरीक्षक कृष्ण खड्काले बताए । अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ परेकालाई अदालतमा पेश गरिएको प्रनाउ खड्काले जानकारी दिए ।
पक्राउ परेका फरार प्रतिवादीहरुमध्ये गाली बेईज्जती मुद्धाका छ, कुटपिट पाँच, बालयौन दुरुपयोग दुई, अभद्र व्यबहार २२, हाडनाता करणी एक, चोरीका दुई जना रहेका छन् ।
यस्तै कर्तव्य ज्यान मुद्धाका दुई, केही सार्वजनिक अपराध दुई, बाली लुटपिटका चार, सवारी ज्यानका दुई, कुटपिट लुटपिट दुई, लुटपिट दुई, जबरजस्ती करणी उधोग, लिखित बदर, बैकिङ कसुर, लिखित बेईजती, नक्कली प्रमाण पत्र (भष्टचार), बन पैदावार हानि–नोक्सनी र बहु–विवाह एक÷एक जना गरि १९ वटा कसुर (मुद्दा) का प्रतिवादीहरु पक्राउ गरिएको छ ।
ओखलढुंगा जिल्ला भित्रैबाट र काठमाण्डौ समेतबाट पक्राउ गरी अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पक्राउ परेका फरार प्रतिवादीहरुबाट जम्मा ४७ बर्ष चार महिना सात दिन कैद सजाय र आठ लाख ९५ हजार ७६६ रुपैयाँ ३३ पैसा जरिवाना असुल गरिएको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई थप तिब्रता दिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया