ओखलढुंगाको मोलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क बृहत स्वास्थ्य शिविरमा १८ सय बढिको स्वास्थ्य परिक्षण गरिएको छ । मोलुङ गाउँपालिका–२ बरुणेश्वर रामपुरमा दुई दिन सञ्चालन गरिएको स्वास्थ्य शिविरमा एक हजार ८३४ जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।
शिविरमा ५५० जनाको बालरोग सम्बन्धी परिक्षण गरिएकोमा १५ लाई तत्काल उपचार गर्नुपर्ने समस्या पहिचान भएका छन् । स्त्री रोग सम्बन्धी ११५ जनाको स्वास्थ्य परिक्षण गर्दा ११ को तत्काल उपचार गर्नुपर्ने देखिएको छ । यस्तै नाक कान घाँटी सम्बन्धी २२० जनाको परिक्षण गर्दा ३१ जनाको तुरुन्त उपचार गर्नुपर्ने लक्षण देखिएको छ । मुटु रोग सम्बन्धी ७०० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । मुटुरोग सम्बन्धी १० जनामा जटिल समस्या देखिएको छ ।
शिविरमा विशेषज्ञ डाक्टरहरु, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टका बरिष्ठ मुटुरोग विशेषज्ञ (कार्डियाक सर्जियन) डा.अनिल भट्टराई, टिचिङ अस्पतालका वरिष्ठ बाल रोग विषेशज्ञ डा. दिनेश कोइराला, नाक कान घाँटी रोग विशेषज्ञ डा.गणेश बहादुर चालिसे लगायतको टिमले परिक्षण, उपचार, परामर्श र औषधि वितरण गरेका थिए ।
अन्य शाखा मार्फत पनि शिविरमा आएका नागरिकको स्वास्थ्य परिक्षण गरिएको विपन्नका लागि स्वास्थ्य नेपालका अध्यक्ष रत्न थापाले जानकारी दिए । शिविरमा जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरु, विपन्न नागरिकको निःशुल्क परिक्षण र औषधी वितरण गरिएको थियो ।
शिविरमा मोलुङ गाउँपालिका लगायत अन्य स्थानिय तहका नागरिकको निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । समृद्धि सँगै पालिकाबासीलाई निरोगी बनाउने उद्देश्यले विशेषज्ञ चिकित्सकको उपस्थितीमा स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष राईको भनाई छ ।
जटिल रोग पहिचान भएका बिरामीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौ साथै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।
मोलुङ गाउँपालिका ओखलढुंगाको आयोजना, विपन्नका लागि स्वास्थ्य नेपाल काठमाण्डौको सहकार्य र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौ साथै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
प्रतिक्रिया