ओखलढुंगाको रुम्जाटारबाट यातायात व्यवस्था कार्यालय हर्कपुरमा सार्न लागिएको भन्दै सदरमुकाममा विरोध प्रदर्शन भएको छ । सिद्धिचरण नगरपालिका–४ रुम्जाटार बाट मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा कार्यालय सार्न लागिएको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् ।
कोशी प्रदेश सरकारले कार्यालय सार्न चलखेल गरेको आरोप लगाउदै नेपाल तामाङ युवा घेदुङ ओखलढुंगाको अगुवाईमा सदरमुकाममा नाराजुलुस सहित विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
यातायात कार्यालय रुम्जाटारबाट हर्कपुर सार्ने निर्णय तत्काल सच्याउन पहल नगरेसम्म पार्टी कार्यालयको ताला नखोलिने नेपाल तामाङ युवा घेदुङका जिल्ला अध्यक्ष विवेक तामाङले बताए । प्रदेश सरकार र राजनितिक दलहरुलाई दबाव सिर्जना गर्न जिल्ला प्रशासन मार्फत ध्यानाकर्षण समेत गराईएको तामाङले जानकारी दिए । केही भूमाफियालाई फाईदा पुग्ने गरी यातायात कार्यालय हर्कपुर सार्ने निर्णय भएको तामाङले आरोप लगाए ।
गत पुस १९ गते बसेको मन्त्रीस्तरको बैठकले हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारी अस्थायी रुट परमिट जारी र ब्लुबुक नवीकरण सेवा विस्तार गर्न यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगालाई पत्राचार गरेको थियो । त्यस यता रुम्जाटार बाट कार्यालयनै सार्न लागिएको हो की भन्ने स्थानियमा आशंका पैदा भएको छ ।
प्रदेश सरकारले यातायात कार्यालय सार्ने हेतुले पत्र पठाएको भन्दै तत्काल त्यस्ता निर्णय रोक्न दबाब स्वरुप आन्दोलनका कार्यक्रम थालिएको नेकपा एमाले सिद्धिचरण नगरकमिटी अध्यक्ष तथा रुम्जाटारका स्थानीय प्रकाश कटवालले बताए ।
कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री अम्बीरबाबु गुरुङको पहलमा ओखलढुंगामा यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।
प्रतिक्रिया