ओखलढुंगामा पत्रकारिता क्षेत्रमा आकर्षण बढ्दो देखिएको छ । शुक्रबार सम्पन्न सात दिने आधारभूत पत्रकारिता तालिममा १६ जना सहभागी भएका थिए । घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको समन्वयमा सञ्चालित तालिममा बरिष्ठ लोक गायक तथा कलाकार कल्याण राई समेत सहभागी भएका थिए । ५४ वर्षिय राई सँगै अन्य १५ जना युवाहरुको सहभागीता पनि उत्साह जनक थियो ।
पछिल्लो समय पत्रकारिता प्रति आकर्षण घटिरहेको सन्दर्भमा ओखलढुंगामा पत्रकारिताको ज्ञान सीप सिक्न चाहने युवाहरुको संख्या उच्च रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयले पाँच जनाको लागी आयोजना गरेको तालिममा १६ जना सहभागी भई सीप सिकेको कार्यालय प्रमुख मोहनराज भट्टराईले बताए ।
तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले पत्रकार आचार संहिताको पालना गर्दै सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गर्न नव आगन्तुक पत्रकारहरुलाई सुझाव दिएका छन् । पत्रकारितामा सम्भावना र अवसरहरु धेरै रहेकोले तालिम पछि पत्रकारितामा जोडिएर समाज र राष्ट्रको सेवामा जुट्न अध्यक्ष खड्काले आग्रह गरेका छन् ।
सहभागीहरु मध्ये योग्य र क्षमता भएकाहरुलाई जिल्ला तथा केन्द्रका विभिन्न सञ्चार माध्यमहरुमा काम गर्ने अवसरका लागि पहल गरिने महासंघ जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष पूर्णप्राद न्यौपानेले बताएका छन् । सहभागीहरुलाई अनलाई, पत्रिका, रेडियो, टेलिभिजन पत्रकारिताका आधारभूत सिद्धान्त साथै मल्टीमिडिया, खोज पत्रकारिता र मोबाईल पत्रकारिताका आधारभूत सीप सिकाईएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
एक दशक बढि समय पत्रकारिता गरेका प्रशिक्षहरु प्रकाश बस्याल, राजन रुचाल, एसबी जेरो, लाक्पा जी शेर्पा, पुर्णप्रसाद न्यौपाने, विनुमाया राई लगायतले प्रशिक्षण दिएका थिए । तालिम माघ ५ देखी ११ गते सम्म महासंघको तालिम हलमा सञ्चालन भएको थियो । पत्रकारिता मार्फत समाज रुपान्तरणमा याेगदान गर्ने सहभागीहरुले बताएका छन् ।
प्रतिक्रिया