ओखलढुंगाको मोलुङ गाउँपालिकामा निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । शिविरमा विशेषज्ञ डाक्टरले सेवा प्रदान गरिरहेका छन् ।
मोलुङ गाउँपालिका ओखलढुंगाको आयोजना, विपन्नका लागि स्वास्थ्य नेपाल काठमाण्डौको सहकार्य र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौ साथै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौको प्राविधिक सहयोगमा शुक्रबार देखी रामपुरमा शिविर सञ्चालन गरिएको छ ।
शिविरमा सेवाग्राही नागरिकको बाक्लो सहभागिता रहेको गाउँपालिका अध्यक्ष उत्तम राई बताए । समृद्ध सँगै स्वस्थ पालिका निर्माणका लागी पालिकाबासीलाई निरोगी बनाउने उद्देश्यले विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष राईको भनाई छ । शिविर मार्फत सेवा लिन पालिका बासीलाई अध्यक्ष राईले आग्रह गरेका छन् ।
शिविरको पहिलो दिन एक हजार ३३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । विशेषज्ञ चिकित्सक मार्फत रोगको पहिचान, उपचार, परामर्श र औषधि वितरण भइरहेको छ । शिविर शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया