सहयाेग उठाएर किक बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण

सहयाेग उठाएर किक बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण



किक बक्सिङका खेलाडी चिरण राईले आर्थिक संकलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गरेका छन् । सुनकोशी गाउँपालिका–४ ओखलढुंगाका राईले आगामी सन् २०२५ फेब्रुअरी १ देखी ५ तारिख सम्म भारतमा हुन गईरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक संकलन थालेका हुन् ।

राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिंगो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको ईण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सीङ प्रतियोगितामा सहभागी हुन लागेका छन् । प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च राई आफैले व्यहोर्नु पर्नेछ । खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ ।

काठमाण्डौ–दिल्ली–काठमाण्डौ हवाई टिकट ३० हजार, छ दिनको खाना र बसोबासको ६० हजार साथै प्रवेश शुल्क दश हजार गरी एक लाख खर्च लाग्ने भएको छ । एसोसिएसनले सुनकोशी गाउँपालिकालाई पत्र मार्फत राईलाई आर्थिक सहयोग गर्न भनेको छ ।

गाउँपालिकाले राईलाई पर्याप्त आर्थिक सहयोग नगर्ने भएको छ । पालिका मार्फत ३० हजार आर्थिक गरिने सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । “अरु म व्यक्तिगत तर्फबाट सहयोग गर्छु, तर पालिका बाट ३० हजार मात्र सहयोग हुनेछ,” अध्यक्ष तामाङले बताए ।

राईलाई प्रतियोगितामा सहभागी गराउन वडा कार्यालयले आर्थिक संकलन अभियान थालेको छ । राई किक बक्सिङका अब्बल एवम् पदक दावेदार खेलाडी भएकाले आर्थिक सहयोगका लागि आह्वान गरिएको वडा अध्यक्ष टायान्द्र राईले बताए । आर्थिक सहयोगका लागि वडा अध्यक्ष राईले अपिल गरेका छन् ।