ओखलढुंगाका वन जंगलमा अमला, लप्सी कुहिएर खेर गइरहेका छन् । न त बिक्री हुन्छ, न त त्यसको सदुपयोग नै भएको पाईन्छ । अब वन जंगलमा खेर गईरहेका फलफूल बाट अचार बनाई आम्दानी गर्न सकिने भएको छ ।
डिभिजन वन कार्यालय ओखलढुंगाले वन जंगलमा पाईने फलफूलबाट अचार बनाउने तालिम प्रदान गरे पछि यसको सदुपयोग हुने भएको हो । वन पैदावरमा आधारित महिलाहरुलाई उद्यमशिलता तालिम अन्तरर्गत अचार बनाउने तालिम सञ्चालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख रितेश बस्नेतले बताए ।
सिद्धिचरण नगरपालिका–२ ठुलाछापका ४० जना महिलाहरुलाई सात दिन अचार बनाउने तालिम दिईएको प्रमुख बस्नेतले जानकारी दिए । वन जंगलमा पाईने अमला, लप्सीको अचार बनाई महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बस्नेतको भनाई छ ।
यसका साथै सहभागिहरुलाई खुर्सानी, अदुवा, लसुन र अकवरे खुर्सानीको पनि अचार बनाउने सीप सिकाईएको कार्यालय प्रमुख बस्नेतले बताए । आगामी दिनमा जिल्लाका अन्य स्थानमा पनि वन पैदावारमा आधारित अन्य सीपमुलक तालिम सञ्चालन गर्ने योजना गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया