ओखलढुंगाको अधिकांश गाउँमा विधुत पुगेको छ । पछिल्लो समय गाउँ गाउँमा विधुत पुगे पनि सावधानी र सचेतनाका कार्यक्रम सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । मानिसलाई करेन्ट लाग्ने तथा विधुत सर्ट भएर आगलागी भई वर्षेनी लाखौंको धनमाल जलेर नष्ट हुने गरेका छन् ।
दुई दिनको अवधिमा जिल्लाको दुई स्थानमा विधुत सर्ट भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । शनिबार खिजिदेम्बा गाउँपालिकाको वडा नं.५ खिजिफलाटे बजारको बसपार्क क्षेत्रमा हरेको लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त घरमा सञ्चालन गरिएको कपडा पसल र होटल पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
काठ र जस्ताले बनेको तामाङको एक तले घरमा खिजिदेम्बा गाउँपालिका–३ का बिनोद सुनुवारको कपडा पसल र वडा नं.५ का दशरथ सुनुवारले सञ्चालन गरेको होटल पसल पुर्ण रुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बाट करिब २२ लाख १० हजार क्षती भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । विधुत सर्ट भएर आगलागी भएको प्रहरी र स्थानियको अनुमान छ ।
आगलागीका कारण नजिकै रहेको ङवाङफुरी शेर्पाको एक तले पक्की घरको दुई वटा झ्याल, निमा तामाङको तीन तले पक्की घरको पहिलो र दोश्रो तलाको चार वटा झ्याल र गोपाल विकको चार तले घरको पाँच वटा झ्याल जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसका साथै सोमबार सिद्धिचरण नगरपालिका–३ अधिरीका शेरबहादुर खत्रीको ढुंगा माटो र जस्ताले बनेको दुई तले घरमा आगलागी भएको छ । आगलागीका कारण घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायत अन्य सामाग्री पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विधुत सर्ट भएर खत्रीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । खत्रीकाे लाखाैं मुल्य बराबरकाे क्षति भएकाे भए पनि एकिन विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
ग्रामिण क्षेत्रमा विधुत विस्तारको क्रम बढे सँगै विधुतीय सावधानी र सचेतनाका कार्यक्रम सञ्चालन भएका छैनन् । यस विषयमा विधुत कार्यालय र स्थानिय तहले समेत चासो दिएका छैनन् ।
प्रतिक्रिया