सात हजार बढी छात्रालाई क्यान्सर विरूद्धको खोप लगाईने

सात हजार बढी छात्रालाई क्यान्सर विरूद्धको खोप लगाईने



राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ओखलढुंगामा कक्षा ६ देखि १० मा अध्यनरत करिब सात हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमन प्यापीलोमा भाईरस विरूद्धको खोप लगाईने भएको छ ।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानिय तहबाट तथ्याङ्क सङ्कलन कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलले जानकारी दिए ।

देशव्यापी खोप कार्यक्रम अन्तर्गत आउँदो माघ २२ गते देखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारीका लागि शनिबार बाट स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया थालेको छ ।

अहिले तथ्यांक संकलन र अद्यावधिक गर्ने साथै अभियान सञ्चानका लागि तयारीको काम भइरहेको कार्यालयले जनाएको छ । विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाईने छ ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट प्रमाणित उक्त खोप १० वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो ।

विद्यालयमै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको तथ्यांक छ ।