ओखलढुंगा जिल्ला अदालतमा बयालिस प्रतिशत मुद्दा फछ्र्यौट

ओखलढुंगा जिल्ला अदालतमा बयालिस प्रतिशत मुद्दा फछ्र्यौट


भिजन समाचार
1.6k
Shares

ओखलढुंगा जिल्ला अदालतले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ४२.३६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो अवधिमा अदालतले कुल ३२१ मध्ये १३६ मुद्दा फछ्र्यौट गरेको हो ।

अदालतले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १६० र नयाँ दर्ता भएका १६१ सहित ३२१ मुद्धामा ४२.३६ प्रतिशत अर्थात हालसम्म १३६ वटा मुद्दा फछ्र्यौट भएको विवरण सार्वजनिक गरेको छ ।

न्याय सम्पादनलाई छिटो र छरितो बनाउन पञ्च वर्षीय रणनीतिक योजना बनाइए पनि विविध कारणले आशातीत प्रगति गर्न नसकिएको जिल्ला न्यायाधीश गिरीराज गौतमले बताए । न्याय सम्पादनलाई छिटो, छरितो, विवाद रहित र प्रभावकारी बनाउने गरि कार्य सम्पादनमा जोेड दिइएको न्यायाधीश गौतमको भनाई छ ।

पत्रकार सम्मेलनमा मुद्दाको अवस्था, अदालतले न्याय क्षेत्र र सामाजिक क्षेत्रमा गरिरहेका काम, नव निर्भाणाधिन भवनको कार्यप्रगति, अदालतको कार्यसम्पादनमा उचित व्यवस्थापनका लागि भइरहेका काम, योजना, लक्ष र आगामी योजनाको बिषयमा जानकारी गराइएको छ ।

अदातका कतिपय सेवाका बारेमा नागरिक अनविज्ञ रहेकोले सञ्चार माध्यम मार्फत सुसूचित गराउन समन्वय आवश्यक रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाका उपाध्यक्ष रविन श्रेष्ठले बताए ।

कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका नव निर्वाचिता कार्यसमितिलाई जिल्ला न्यायाधीश गौतमले खादा अविर लगाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

ओखलढुंगा जिल्ला अदालतको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधीश गौतम, अदालतका कर्मचारी, नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखा उपाध्यक्ष रविन श्रेष्ठ लगायतका पदाधिकारी, सदस्य र जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।