नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण गरेका छन् । एआइजी गुरुङले बिहीबार जिप्रका ओखलढुंगाको भ्रमण तथा निरीक्षण गरेका हुन् ।
निरीक्षण पछि गुरुङले प्रहरी अधिकृत तथा जवानहरुलाई समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । यस्तै प्रहरी सेवालाई थप उत्कृष्ट सेवा बनाउन प्रहरीले अनुशासन, आचरण, पेशागत दक्षता एवंम स्वास्थ्य जस्ता आधारभुत कुरालाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।
साङ्गठनिक लक्ष्य हासिल गर्न प्रहरी कर्मचारीहरु उच्च नैतिकवान, सीपयुक्त, स्वस्थ तथा साहसी हुनुपर्ने भन्दै उनले उपयुक्त पोशाकको प्रयोग गर्न तथा उपलब्ध स्रोत साधनको समुचित उपयोग गर्नुपर्नेमा समेत सुझाव दिएका छन् ।
भ्रमण तथा अनुगमनका क्रममा एआइजी गुरुङलाई ओखलढुंगाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण खड्का सहित प्रहरी कर्मचारीहरुले माला तथा पुष्प गुच्छाले स्वागत गरेका थिए । प्रहरीको एक टुकडीले सलामी समेत दिएको थियो ।
एआइजी गुरुङले कार्यालय परिसरमा रहेको मन्दिरमा पूजा गर्नुको साथै वृक्षारोपण समेत गर्नुभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया