सीबीआर परियोजना स्थानिय तहलाई हस्तान्तरण

सीबीआर परियोजना स्थानिय तहलाई हस्तान्तरण


भिजन समाचार
1.8k
Shares

जिल्लाको दुई वटा स्थानिय तहमा सञ्चालित समुदायमा आधारित पुनःस्थापना (सीबीआर) परियोजना हस्तान्तरण गरिएको छ । मोलुङ र खिजिदेम्बा गाउँपालिकामा विगत पाँच वर्ष देखि ओखलढुंगा सामुदायिक अस्पताल मार्फत सञ्चालित परियोजना स्थानिय तहलाई हस्तान्तरण गरिएको हो ।

अपांगता भएका व्यक्ति तथा उनिहरुका परिवारलाई लक्षित गरेर सञ्चालन भएको परियोजनाको प्रभावकारिता अनुगमन साथै सामाजिक लेखा परिक्षण गरेर स्थानिय तहलाई हस्तान्तरण गरिएको ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिए । पाँच वर्ष सम्म सीबीआरले गरेको कामको लिखित प्रतिवेदन सहित गाउँपालिकालाई परियोजना हस्तान्तरण गरिएको डा. खरेलको भनाई छ ।

समावेशी समाज निर्माणका लागि अपांगता भएका व्यक्ति साथै उनिहरुका परिवारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिकिरण र सशक्तिकरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको सीबीआर कार्यक्रम संयोजक तुलाराम कार्कीले बताए । विशेष गरि अपांगता समावेशी समाज निर्माणमा जोड दिईएको संयोजक कार्कीले जानकारी दिए ।

अपांगताको क्षेत्रमा सीबीआरले सुरु गरेको कामलाई गाउँपालिकाले निरन्तरता दिने मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताए । निति निर्माण गरेरै अपांगता भएकालाई विमा लगायतका कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईको भनाई छ ।

सीबीआरले थालनी गरेको कामलाई सरकारले अपनत्व लिने खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए । परियोजनाले आँखा देखाउने काम गरेको छ यसको निरन्तरता गाउँपालिकाले दिने अध्यक्ष शेर्पाको भनाई छ ।

अपांगता भएका व्यक्ति तथा परिवारको आर्थिक स्तर सवल बनाउन कोशेली घरको निर्माण कार्य थालिएको अध्यक्ष शेर्पाले जानकारी दिए । यसका साथै नियमित औषधी सेवन गर्नेहरुलाई निःशुल्क औषधीको व्यवस्था गरिएको अध्यक्ष शेर्पाको भनाई छ । परियाेजनाकाे गतिविधी बारे जनप्रतिनिधी लगायत सराेकारवालाहरुले स्थलगत अनुगमन गरेका थिए । आगामी पाँच वर्ष ओखलढुंगा सामुदायिक अस्पताल मार्फत सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकामा (सीबीआर) परियोजना सञ्चालन हुने बताईएको छ ।