जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले मतदाता नामावली दर्ता कार्य पुनः सुरु गरेको छ । मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षको रिक्त पदमा उपचुनावको मिति घोषणा भएपछि असोजको पहिलो हप्तादेखि रोकिएका नामावली सङ्कलन कार्य पुनः सुचारु भएको हो ।
निर्वाचन आयोगको पदाधिकारी बैठकले रोकिएको नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक गर्ने कार्य पुनः नियमित गर्ने निर्णय गरेसँगै जिल्लामा पनि मंसिरको अन्तिम साता देखि मतदाता नामावली अद्यावधिक कार्य सुरु गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी बिदुर बस्नेतले बताए । पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै पालिका वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था मिलाइएको बस्नेतको भनाई छ ।
मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकता आवश्यक पर्दछ । यस्तै नागरिकतामा उल्लेखित ठेगाना भन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने कार्यालयले जनाएको छ । गत मङ्शिर १६ गते मोलुङ गाउँपालिका वडा नं.५ मा वडा अध्यक्ष पदका लागि उपचुनाव भएको थियो ।
प्रतिक्रिया