जेरो राई समुदायमा साकेला सहित भूमि पुजा

जेरो राई समुदायमा साकेला सहित भूमि पुजा


भिजन समाचार
3.3k
Shares

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. १, ३ र ४ लगायत जिल्लाका विभिन्न स्थानिय तहमा जेरो राई समुदायको बसोबास छ । प्रकृति पुजक जेरो राईहरुले पहिलो पटक साकेला सहित भूमि पुजा गरेका छन् । किरातहरुको महान चाढ उधौलीको अवसरमा सुनकोशी गाउँपालिका–१ आम्बोटमा पहिलो पटक साकेला सहित भूमी पुजा गरिएको हो ।

यो गाउँ किरात राई वस्तिहरुको अन्तिम तथा प्रस्थान थलोका रुपमा मानिन्छ । किरात राई यायोक्खा जिल्ला शाखा ओखलढुङ्गा र स्थानिय प्रतिभावान प्रगतिशिल युवा क्लबको आयोजनामा सँस्कृति संरक्षण, सम्बद्र्धनका र भुगोलको प्रवद्र्धन गर्ने उद्देश्यले साकेला सहित भूमिको पुजा गरिएको हो । प्रकृति पुजक राई समुदाय भित्रको जेरो भाषी राईहरुले पहिलो पटक साकेला सहित भूमि पुजा गरेको सुनकोशी गाउँपालिका–४ का वडा अध्यक्ष टायन्द्र राईले बताए । उधौली र उभौलीको अवसरमा भूमीको पुजा गरिएको भए पनि पहिलो पटक साकेला सहित गरिएको वडा अध्यक्ष राईको भनाई छ ।

पालिका भित्र रहेका विभिन्न जातजातिहरुको भाषा, संस्कार, सस्कृतिको प्रवद्धनका लागि गाउँपालिकाले विशेष योजना बनाएर सहयोग गरि रहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कमल तामाङले बताए । यस अघि राई, तामाङ, मगर, नेवार लगायतका समुदायलाई साँस्कृतिक बाजा उपलब्ध गराईएको अध्यक्ष तामाङको भनाई छ । आगामी दिनमा आवश्यकता अनुसार आदिवासी समुदायको उत्थानका लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष तामाङले प्रविद्धता गरेका छन् ।

जिल्लाका विभिन्न स्थानमा रहेका राई समुदायकाे प्रद्र्धनका लागि किरात राई यायोक्खाले काम गरिरहेको जिल्ला अध्यक्ष थगेन्द्रराज राईले बताए । जिल्लामा रहेका सम्पुर्ण राई समुदायलाई एकताको शुत्रमा बाध्न साँस्कृतिक अभियान सञ्चालन गरिएको अध्यक्ष राईको भनाई छ ।

किरात राई यायोक्खा जिल्ला कार्यसमितिको समूह, स्थानिय सुम्नीमा समूह र किरात राई कलाकार मानेभञ्ज्याङको समूहले सामुहिक साकेला सिली प्रस्तुत गरेका थिए । जेरो राईहरुले उधौली र उभौलीको अवसरमा भूमिको पुजा गरे पनि साकेला सहितको पुजा पहिलो पटक गरिएको बताइएको छ । ओखलढुङ्गा, खोटाङ, सिन्धुली, संखुवासभा लगायत जिल्लाहरुमा जेरो भाषि राईहरुको बसोबास छ ।