ओखलढुंगाका ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा भाडा छुट नपाएको गुनासो गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ज्येष्ठ नागरिक केन्द्रहरुमा भएको सचेतनामूलक कार्यक्रममा ज्येष्ठ नागरिकहरुले यस्तो गुनासो गरेका हुन् ।
सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई छुट र सुविधा दिने व्यवस्था भएपनि धेरै जसो ज्येष्ठ नागरिकलाई नै छुट पाइन्छ भन्ने थाहा नहुँदा पनि उक्त सुविद्या नपाएको देखिएको छ ।
छुट सुविधाबारे जानकार ज्येष्ठ नागरिकले पनि सहज रुपमा सेवा पाउन नसकेको जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सिद्धिचरण नगरपालिका १२ का अध्यक्ष धु्रव कुमार राजभण्डारीले बताए । पटकपटक आवाज उठाउँदा खबरदारी गर्दा पनि भाडामा सहुलियत हुने कुरा कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।
अन्तरक्रियामा अन्तरपुस्तगत समाज स्थापनाका लागि लक्षित क्रियाकलाप संचालन गर्नुपर्नेमा ज्येष्ठहरुले जोड दिएका छन् ।
अभियानको अवसर पारेर शुक्रबार सिद्धिचरण नगरपालिका भित्र रहेका छ वटा वडाका ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रमा सचेतनामूलक कार्यक्रम गरिएका थियो । कार्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था, ज्येष्ठ नागरिकहरुका समस्या र अगामी दिनमा ज्येष्ठ नागरिकको क्षेत्रमा गर्न सकिने काम लगायतको बारेमा जिल्ला प्रहरी कार्यालय लगायतका सरकारवालाहरुले जानकारी गराएका थिए ।
प्रतिक्रिया