ओखलढुंगाको श्रीचौरमा १३८ जनाको निःशुल्क आँखा स्वास्थ्य परिक्षण गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरमा मंगलबार सञ्चालित एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविरमा १३८ जनाको आँखा परिक्षण गरिएको हो ।
जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको आयोजना तथा वडा कार्यालयको समन्वयमा सञ्चालन गरिएको शिविरमा ७२ जना महिला र ६६ जना पुरुष गरि १३८ जनाको आखाँको निःशुल्क परिक्षण, उपचार र मोतिबिन्दु समस्याको छनोट गरिएको छ ।
आँखा स्वास्थ्य परिक्षण गर्दा पाँच जनाको शल्यक्रिया गर्नुपर्ने समस्या भेटिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी इन्चार्ज टिका राईले जानकारी दिइन् । अन्यलाई आँखा स्वाथ्य जाँच, उपचार र परामर्श सेवा तथा औषधि वितरण गरिएको राईको भनाई छ ।
मोतिबिन्दु शल्यक्रियाको लागि छनोट भएका बिरामीको यहि मंसिर २२ र २३ गते तिलगंगा आँखा प्रतिष्ठानका दक्ष चिकित्सकहरुबाट केन्द्रमा शल्यक्रिया गरिनेछ ।
यस अघि मंसिर ११ गते केन्द्रमा सञ्चालित शिविरमा ११५ जनाको आँखा परिक्षण गरिएको थियो भने २० जना मोतिविन्दुको शल्यक्रियाका लागि छनोट भएका थिए ।
आँखामा अन्धोपना ल्याउने मुख्य कारण मोतिविन्दु भएकाले जिल्लामा निःशुल्क मोतिविन्दु छनोट शिविर राखेर बिरामी छनोट गरि सहुलियतमा विशेषज्ञ डाक्टरहरुद्वाारा केन्द्रमै शल्यक्रिया गर्ने गरिएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया