ओखलढुंगाको मोलुङ ५ मा हुने उप चुनावको सबै तयारी पुरा भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षका लागि आइतबार मतदान हुँदैछ । मतदानका लागि सम्पुर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताएका छन् ।
मतदानका लागि केन्द्र, बुथ निर्माण र आवश्यक सामाग्रीहरु तयारी अवस्थामा रहेको बताउँदै उनले मोलुङ–५ को दुई वटा मतदान केन्द्रबाट आइतबार बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान हुने जानकारी गराए ।
मतदानका लागि भौतिक व्यवस्था सहित शान्ति सुरक्षा लगायतका सबै कुरा चुस्तदुरुस्त बनाइएकोले ढुक्क भएर आफ्नो मत अधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृत गौतमले आग्रह गरे ।
मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालयले पनि आह्वान गरेको छ ।
मोलुङ–५ को वडा अध्यक्षको लागि आठ जनाको उम्मेदवारी परेकोमा दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवार हेमबहादुर सुनुवार र दिपप्रसाद दाहालले उम्मदवारी फिता लिए पछि अब विभिन्न पार्टीका छ जना उम्मेदवार बिच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
मोलुङ–५ मा नेकपा एमालेबाट गंगाबहादुर तामाङ, नेपाली काँग्रेसबाट घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहाल, जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जी उम्मेदवार छन् ।मोलुङ गाउँपालिका–५ मा मतदाताको संख्या १३ सय २५ रहेको छ ।
गत जेठमा मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भए पछि यहाँ उप–निर्वाचन हुन लागेको हो । नेपाली काँग्रेसको तर्फबाट निर्वाचित कार्कीको शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा ५१ वर्षको उमेरमा निधन भएको थियो ।
जिसस प्रमुखमा भने कांग्रेसका एक्ला उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया