दुई करोडको लागतमा बन्ने उजेली सेवा समाजको भवन शिलान्यास गरिएको छ । जिल्लाको लिखु गाउँपालिका–८ टारकेराबारी डाडाँखर्कमा ग्रामीण सुधार उजेली सेवा समाजको सामुदायिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको हो ।
प्रदेश सरकारबाट प्राप्त दुई करोड बजेटबाट निर्माण हुने समाजको सामुदायिक भवनको कोशी प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बाबुराम गौतमले शनिबार शिलान्यास गरेका छन् ।
भवनको शिलान्यास गर्दै सांसद गौतमले पिछडिएको क्षेत्रको उत्थानका लागि भवन कोषेढुंगा साबित हुने बताए । आफ्नो कार्यकालमा नै भवन सम्पन्न हुनेगरि बजेट विनियोजनामा पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
शिलान्यास भएसँगै शहरी विकास तथा भवन कार्यलय ओखलढुंगाबाट भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । प्रारम्भीक चरणमा प्रदेश सरकारबाट प्राप्त ४५ लाख बजेट मार्फत डिपिआर लगायतका काम हुने समाजका सल्लाहकार ईला बहादुर मुदेलले जानकारी दिए ।
साढे दुई तले पक्की सुविधासम्पन्न भवन बनेपछि उक्त भवनमा समाजका गतिविधि गर्न सहज हुने, युवा र समुदायका व्यक्तिहरुको क्षमता विकासका लागि तालिम तथा विभिन्न कार्यक्रम गर्न सहज हुने उनको भनाई छ ।
भवन नहुँदा समाजको बैठक लगायतका गतिविधि खुल्ला चउरमा हुँदै आएका छन् । भवन बनेपछि सहज हुने समाजका सचिव नीर बहादुर मुदेलले बताए । ६० भन्दा बढी घर दलित समुदाय संगठित भएर बनेको समाजले सामाजिक कामसँगै समाज सुधारका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।
प्रतिक्रिया