चार महिनामा छ करोड बढी राजश्व संकलन

चार महिनामा छ करोड बढी राजश्व संकलन



करदाता सेवा कार्यालय ओखलढुंगाले चार महिनामा छ करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन देखि हालसम्मको अवधिमा कार्यालयले छ करोड एक लाख २३ हजार राजश्व संकलन गरेको हो ।

नौं करोड ७० लाख २८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्यको ६१.९६ प्रतिशत मात्र राजश्व संकलन भएको करदाता सेवा कार्यालय ओखलढुंगाका सूचना अधिकारी सचिनदेव भट्टराईले जानकारी दिएका छन् ।

सबैभन्दा बढी आयकर बापत ४ करोड ५ लाख १७ हजार र भ्याट कर वापत १ करोड ५३ लाख ६२ हजार संकलन भएको छ ।

यस्तै अन्त शुल्क बापत ३३ लाख ३८ हजार, घर बहाल कर वापत ५ लाख ८४ हजार र ब्याज कर वापत ३ लाख २१ हजार राजश्व संकलन भएको छ ।

राज्यले नागरिकको सुरक्षा र सेवा सुविधाको लागि अरबौँ रकम खर्चिने र त्यो रकम नागरिकले बुझाएको कर बाटै पुर्ति हुने भएकाले कर तिर्नु नागरिकको कर्तव्य भएको कार्यालयले जनाएको छ ।

कार्यालयबाट स्थानी लेखा नम्बर दर्ता नविकरण, अन्तःशुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान हुँदै आएको छ । कार्यालयले सोलखुम्बुको पासाङल्हामु गाउँपालिका बाहेक ओखलढुंगा र सोलुखुम्बुका सबै पालिकालाई सेवा दिने गरेको छ ।