लैङ्गिक हिंसा विरुद्ध सिनपामा विविध कार्यक्रम गरिने

लैङ्गिक हिंसा विरुद्ध सिनपामा विविध कार्यक्रम गरिने



लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत सिद्धिचरण नगरपालिका ओखलढुंगामा विभिन्न कार्यक्रम गरिने भएको छ । सिद्धिचरण नगरपालिका, नगरपालिका क्षेत्रभित्र क्रियाशिल विभिन्न संघसंस्था, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको समन्वयमा विभिन्न कार्यक्रम सहित दिवस मनाउने तयारी भएको छ ।

बिहीबार सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतको अध्यक्षता र सरोकारवालाहरुको सहभागीतामा बसेको बैठकले ३३ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नगरपालिका, ग्रामिण महिला जागरण सञ्जाल लगायतका विभिन्न संघसस्थाको आयोजना र जिल्ला प्रहरी कार्यालय लगायतको समन्वयमा वडा तहसम्म पुगेर १६ दिनभरी नै विभिन्न सचेतनाका कार्यक्रम गरिने सिद्धिचरण नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता तामाङले जानकारी दिइन् ।

जिल्ला स्थित एफएम, रेडियोबाट सचेतनामूलक जिङ्गल प्रसारण, लैंगिक हिंसा न्यूनिकरण विषयक वक्तृत्वकला प्रतियोगिता सञ्चालन, बालविवाह न्यूनिकरण सम्बन्धी विद्यालय स्तरमा कानुनी सचेत लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निलकण्ठ विश्वकर्माले नगरपालिकाले अभियानको अवधिमा मात्र नभई अन्य समयमा पनि लैंगिक हिंसा न्यूनिकरणको क्षेत्रमा काम गरिएको बताए । नगरपालिकाले आगामी दिनमा पनि लैंगिक हिंसा न्यूनिकरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ ।

सबैको प्रयासले लैंगिक हिंसा न्यूनिकरणमा भूमिका खेलेको सिद्धिचरण नगरपालिकाका नगरउपप्रमुख केदारबाबु बस्नेतले बताए । सबैको प्रयासमा मात्र लैंगिक हिंसा न्यूनिकरणमा सहयोग पुग्ने भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् ।

नगरपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेर लैंगिक हिंसा न्यूनिकरणको क्षेत्रमा काम गरिरहेको र अगामि दिनमा पनि यसलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरउपप्रमुख बस्नेत, प्रमुख प्रशासकिय अधिकृत विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक विजय कार्की, स्वास्थ्य शाखा प्रमुख पवन लामा, कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।  

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाउने गरिन्छ । यस वर्ष ‘हामी सबैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाईदै छ ।