जिल्ला विपद व्यवस्थापन समिति ओखलढुङ्गाले आपतकालिन बैठक बसेर बर्षातले पु¥याएको क्षतिको विश्लेषण गरेको छ । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक डा.नारायण ढकालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर क्षतिको विश्लेषण गरेको हो ।
अविरल वर्षाका कारण गएको बाढी पहिरोले कुन–कुन स्थानमा के कति क्षति भयो भन्ने बिषयमा छलफल र विश्लेषण भएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी डा.ढकालले बताए । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिका बढी प्रभावित भएको समितिको बैठकले निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।
यसका साथै सबै भन्दा बढी सुनकोशी नदिमा आएको बाढीले बढी क्षती गरेको उल्लेख गरिएको छ । यी दुई स्थानिय तहको सुनकोशी नदि किनारका ४२ वटा घर डुबानमा परेका छन् । सुनकोशी गाउँपालिकाको वडा नं. १, २ र ४ गरि २३ र चम्पादेवी गाउँपालिकाको वडा नं.२ १७ घर र अन्य स्थानमा दुई गरी ४२ घर बाढी पहिरोले क्षति गरेको जिल्ला विपद व्यवस्थापन समिति ओखलढुङ्गाले जनाएको छ ।
सुनकोशी गाउँपालिकाको सुनकोशी नदि तटिय क्षेत्रका ५०० रोपानी बढी खेतमा पाक्न लागेको धानबालीमा क्षति भएको बताईएको छ । क्षतिको विवरण संकलनको काम भइरहेकोले यकिन विवरण संकलन तथा एकिकृत गरि केहि दिनमा सार्वजनिक गरिने संयोजक ढकालले बताए । प्रारम्भीक रुपमा आएको जानकारी अनुसार मानविय क्षतिका हिसाबले एक महिलाको मृत्यु र तीन जना घाइते भएको विवरण रहेको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
स्थलगत अनुगमन र राहत तथा पुनःस्थापनाको काम सुरु भएको समितिले जानकारी दिएको छ । सुनकोशीको बाढीले एउटा झोलुंगे पुल बगाउनुका साथै तीन वटामा क्षती पु¥याएको छ । जिर्ण बनेका पुलको मर्मत साथै क्षती भएको धानबालीको क्षती पुर्तीका लागि सम्बन्धीत निकायमा अनुरोध गर्ने समितिको बैठकले निर्णय गरेको छ । पीडितहरु राहत र क्षति पुर्तीको पर्खाईमा छन् ।
प्रतिक्रिया