असोज ७ गतेबाट ओखलढुंगामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिने

असोज ७ गतेबाट ओखलढुंगामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिने


भिजन समाचार
1.8k
Shares

ओखलढुंगामा यहि असोज ७ गतेबाट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखेर अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिने भएको हो ।

असोज ७ गते सोमबार देखि आगामी माघ २ गतेसम्मका लागि सुपथ मुल्यको पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ओखलढुंगाका शाखा प्रमुख मौसम माझीले जानकारी दिए । उक्त पसलमा विशेष गरी चामल सुपथ मुल्यमा पाईने छ ।

स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामलमा प्रति केजी पाँच रुपैयाँ छुट दिइने छ । अहिले प्रति केजी ९४ रुपैयाँ बजार भाउ रहेको स्टिम जिरा मसिनो चामल सहुलियतमा ८९ रुपैयाँको दरले विक्री गर्दा २५ केजीको एक बोराको सहुलियत पसलमा दुई हजार २२५ मात्रै पर्नेछ ।

यस्तै अहिले प्रति केजी ६५ रुपैयाँ बजार भाउ रहेको अरुवा सोना मन्सुली चामल सहुलियतमा ६० रुपैयाँको दरले विक्री गर्दा २५ केजीको एक बोराको सहुलियत पसलमा एक हजार ५०० मात्रै पर्ने कार्यालयले जनाएको छ ।