चम्पादेवीमा प्लाष्टिकको बोतलको पेयपदार्थ बरामद र नष्ट

चम्पादेवीमा प्लाष्टिकको बोतलको पेयपदार्थ बरामद र नष्ट


भिजन समाचार
636
Shares

चम्पादेवी गाउँपालिकामा पेयपदार्थ खोजी र नष्ट गर्ने काम कढाईका साथ लागु गरिएको छ । प्लाष्टिकको बोतलमा आउने विभिन्न कम्पनीका पेयपदार्थ विक्रि वितरणमा प्रतिबन्ध गर्ने गाउँपालिकाको निर्णय अनुसार कढाईका कार्यन्वयन गर्न थालिएको हो । चम्पादेवी गाउँपालिकामा छ महिना अघि बजारमा प्लाष्टिकको बोतलमा पाईने पेयपदार्थ ओसार पसार र विक्रि वितरणमा रोक लगाईएको थियो ।

केही दिन अघि वडा नं.८ विलन्दुमा गरिएको बजार अनुगमनमा सात हजार ५०० मुल्य बराबरको पेयपदार्थ जफत गरि नष्ट गरिएको छ । वडाका जनप्रतिनिधि, प्रहरी र सरोकारवालाको टोलीले अनुगमन गर्दा १४ वटा होटल तथा पसलहरु बाट जम्बो डिउ, फ्रुटी जुस, लिची जुस र प्लास्टिकको बोतलमा रहेको मदिराजन्य पदार्थ गरि सात हजार ५०० रुपैयाँ बराबरको सामाग्री जफत गरि नष्ट गरिएको वडा अध्यक्ष खड्ग बहादुर बरालले बताए । गाउँपालिकाले गरेको निर्णय कार्यन्वयन भए नभएको अनुगमन गर्ने क्रममा यी सामाग्री फेला पारिएको वडाअध्यक्ष बरालले बताए ।

प्लाष्टिकको बोतलमा आउने पेयपदार्थको सेवनले पालिकाबासीको स्वास्थ्यमा गम्भीर असर पारिरहेको, रोगी बनाएको र स्थानीय अर्थतन्त्रलाई समेत कमजोर बनाउनुको साथै विभिन्न हिंसा तथा घरेलु हिंसा बढेको भन्दै गत असार २५ गते गाउँपालिकाले गाउँ सभाको निर्णयबाट प्रतिबन्ध गरिएको थियो ।

पालिका बासीलाई रोगबाट जोगाउन, आर्थिक सुधार गर्न साथै महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले डिउ, कोक, फ्यान्टा, मिरिन्डा, फ्रुटी, इनर्जी ड्रिङ्ग, रेडबुल यस्तै प्लाष्टिकको बोतलमा प्याकिङ्ग भएका मदिराजन्य पदार्थहरु पूर्ण रुपले प्रतिवन्ध गरिएको छ ।