अचानक विद्यार्थी बेहोस हुन थालेपछि मुलखर्कको चौतारा माविका तीन वटा कक्षा बन्द

अचानक विद्यार्थी बेहोस हुन थालेपछि मुलखर्कको चौतारा माविका तीन वटा कक्षा बन्द


भिजन समाचार
9.1k
Shares

अचानक विद्यार्थी बेहोस हुन थालेपछि ओखलढुंगाको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ । कक्षा ८, ९ र १० का विद्यार्थीहरुमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काप्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेपछि भदौ २५ र २६ गतेका लागि तीन वटा कक्षाका विद्यार्थीलाई बिदा दिइएको हो ।
जिल्लाको सुनकोशी गाउँपालिका–५ को चौतारा माध्यमिक विद्यालयमा सुरु सुरुमा एक–दुई जना विद्यार्थीमा मात्रै यस समस्या देखिए पनि तीन अघि देखी भने २५ भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएपछि कक्षाको पठनपाठन नै बन्द गर्नुपरेको प्रधानाध्यापक कमल बहादुर कटवालले बताए ।
‘बिद्यार्थी बेहोस हुने, रुने, कराउने, चिच्याउने, लड्ने, बेहोस हुने जस्ता समस्या देखा परेको छ । बिरामी भएका विद्यार्थीलाई हेरेमा अन्य विद्यार्थीलाई पनि सर्ने र बढ्ने क्रम बढे पछि हामीले समाधानको उपाय खोज्न दुई दिनको लागि कक्षा ८, ९ र १० को पठनपाठन बन्द गरेका छौँ ।’ उनले भने ।
‘अवस्था सम्हाल्नै नसक्ने भए पछि कक्षा बन्द गर्ने निर्णयमा पुगेका हौँ । बिरामी विद्यार्थीलाई सम्हाल्ने शिक्षक–शिक्षिकामा समेत केहीमा त्यस किसिमको अनौठो रोग सरेको पाइयो । समग्र विद्यालयको पठनपाठनमा समस्या नहोस भनेर तीन वटा कक्षा अहिलेलाई बन्द गरेका छौँ । बिरामी भएर क्लास छुटेका विद्यार्थीलाई पछि बिदाको दिन वा ट्युसन पढाएर भए पनि पाठयोजना पुरा गछौँ । अब केही दिन विद्यार्थीको अवस्था विश्लेषण गरेर थप निर्णय लिन्छौँ ।’ प्रअ कटवालले भने ।
विद्यार्थीका अभिभावकको सुझावमा धार्मिक पूजापाठसहित लामा पढाउनुपर्ने सुझाव आएकोले त्यसबारेमा विद्यालयले छलफल गरिरहेको उनको भनाई छ । विद्यार्थीमा मानसिक स्वास्थ्य समस्याका कारण पनि त्यस प्रकारको समस्या भएको हुनसक्ने अनुमानमा मनोपरामर्श कक्षा सञ्चालनबारे आफुले गाउँपालिकामा पहल गरेको प्रअ कटवालले बताए ।
विद्यालयले सोमबार एक सूचना जारी गर्दै विद्यार्थीमा यस्ता लक्षणहरु देखिएर बिरामी हुँदा अध्ययन अध्यापनमा बाधा उत्पन्न भएकोले आवश्यक छलफल गरि समधानको बाटो खोज्ने उदेश्यले कक्षा बन्द गरिएको जानकारी गराएको छ ।
तर नर्सरी देखि कक्षा ७ सम्म र कक्षा ११ र १२ तथा प्राबिधिक धार तर्फका सबै कक्षा नियमित संचालन भइरहेको विद्यालयले जनाएको छ ।