ओखलढुंगामा एक बर्षमै नागरिक एपबाट तीन हजार नौं सय बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार जिल्लामा आर्थिक बर्ष २०८०÷०८१ मा तीन हजार ९५४ जनाले नागरिक एपको सेवा लिएका हुन् ।
नागरिक एपका माध्यमबाट सेवा प्रवाहलाई प्रविधि मैत्री, व्यवहारिक र प्रभावकारी बनाउन सरकारले यो एप सञ्चालनमा ल्याएको थियो । जिल्लामा एक बर्षकै अवधिमा करिब चार हजार सेवाग्राहीले नागरिक एपमा नागरिकताको विवरण अद्यावधिक गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।
एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्लेस्टोर र आइफोन प्रयोगकर्ताले एप्स स्टोरबाट नागरिक एप डाउनलोड गर्नुपर्नेछ । यो एपको प्रयोगबाट समयको बचत, झन्झट हट्ने, खर्च जोगिने, पारदर्शिता बढ्ने प्रशासनले जनाएको छ ।
नागरिक एप्समा नागरिकता नम्बर, मतदाता परिचय पत्र नम्बर, स्थायी लेखा नम्बर राहदानी नम्बर, कर्मचारी सञ्चय कोष नम्बर, सामाजिक सुरक्षा कोष नम्बर राखेपछि त्यसको पुर्ण विवरण एपले देखाउनेछ ।
नागरिक एपले आफैँ आवश्यक विवरण लिने र पुष्टी गर्ने काम गर्छ । नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र, जस्ता कागजात साथमा बोकेर हिड्नुपर्ने झन्झट नहुने प्रशासनले जनाएको छ ।
मोबाइलबाटै हात हातमा सेवा दिनका लागि र आफ्ना सबै सामग्री मोबाइलमा नै सुरक्षित राख्नका लागि नागरिक एप प्रभावकारी र सुरक्षित पनि हुने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया