चम्पादेवीका जेष्ठ नागरिकलाई गाउँमै उपचार, ७९० दिर्घरोगीलाई निःशुल्क औषधि वितरण

चम्पादेवीका जेष्ठ नागरिकलाई गाउँमै उपचार, ७९० दिर्घरोगीलाई निःशुल्क औषधि वितरण


भिजन समाचार
159
Shares

ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले ६० बर्ष माथिका जेष्ठ नागरिकलाई गाउँ–गाउँमै पुगेर स्वास्थ्य सेवा दिएको छ । गाउँपालिकाले सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर एक हजार २३० जना जेष्ठ नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको हो ।
भदौ पहिलो साता देखी गाउँपालिकाको दश वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा जेष्ठ नागरिक लगायत अन्य उमेर समूहका नागरिकलाई पनि स्वास्थ्य सेवा दिईएकाे थियाे । शिविरमा ४५० जनाको दन्त रोगको उपचार, ९३ जना मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई परामर्श तथा औषधि वितरण र ७९० दिर्घरोगीहरुले नियमित सेवन गर्दै आएको औषधी निःशुल्क वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीले बताए ।
घरेलु हिंसाको मुख्य कारक मदिरालाई निषेध गर्नेबारे अन्तरक्रिया तथा सचेतना, जंक फुड (पत्रुखाना) को सट्टामा बालकालिकालाई स्थानीय खानेकुरा खुवानु पर्ने लगायतका विषयमा नागरिकलाई स्वास्थ्य सचेतना दिइएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीको भनाई छ ।
गाउँपालिकाका जनतालाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । यस अघिका वर्षहरुमा पनि पालिकाको गाउँ गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको अध्यक्ष केसीले जानकारी दिए । यस अघि नागरिकलाई सहज सेवा दिनका लागि पालिकाले वडामै योजना सम्झाैता शिविर समेत सञ्चालन गरिएको गाउँपालिका श्रोतले जनाएको छ ।