विगत पाँच बर्षको तथ्याङ्क अनुसार ओखलढुंगामा चट्याङ लागेर १२ जनाले ज्यान गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘जिल्ला विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना–२०८१’ मा उल्लेख तथ्याङ्क अनुसार बाढी–पहिरो, आगलागी र हावाहुरी लगायतका अन्य प्रकोप भन्दा चट्याङका कारण ज्यान गुमाउनेको संख्या बढी छ । आर्थिक बर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मको तथ्याङ्क अनुसार १२ जनाको चट्याङ्ले कारण ज्यान गएको हाे ।
आगलागीमा परि छ जनाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन् । यसै गरी हावाहुरी बाट धनमालको क्षती भए पनि मानवीय क्षति नभएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यस्तै बाढी बाढी–पहिरोबाट पाँच बर्षको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । तर चट्याङका कारण पाँच बर्ष भित्र १२ जनाले ज्यान गुमाएका छन् भने २१ जना घाइते भएका छन् । यसरी हेर्दा अन्य विपद्को तुलनामा चट्याङका कारण मानवीय क्षति दोब्बर र घाइते हुनेको संख्या तेब्बरले बढी देखिन्छ ।
तर अन्य विपदमा जस्तो चट्याङबाट हुने क्षति न्यूनीरकणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायको ध्यान कमै जाने गरेको पाईन्छ । चट्याङ् बाट बच्ने उपाय बारे नागरिकमा आवश्यक ज्ञान नहुनुका साथै सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । चट्याङ् बाट हुने क्षति न्युनीकरण गर्न सचेतना र सावधानी अपनाउने विषयलाई प्राथमिकता दिने आफुहरुको योजना रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले बताए ।
जिल्लाका सरोकारवाला निकाय र स्थानीय तहहरुले पनि यस कुरालाई प्राथमिकता दिनुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । चट्याङले मानवीय क्षति सँगै नागरिकको सम्पत्ति र पशुचौयामा पनि धेरै क्षति पु¥याएको छ । अन्य विपद् भन्दा फरक भएकाले र न्यूनीरणका लागि ठोस काम गर्न असम्भव भए पनि सचेतनाले धेरै हदसम्म क्षति न्युनिकरण गर्न सकिने सरोकारवालाहरुको जोड छ ।
के हो चट्याङ, कसरी जोगिने ?
चट्याङ एक प्रकारको विद्युतीय करेन्ट हो । बादल एकआपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्तिलाई चट्याङ् भनिन्छ । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।
चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने विज्ञहरुको भनाई छ ।
प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाय भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।
सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।
प्रतिक्रिया