ओखलढुंगा । खिजीदेम्बा गाउँपालिका–६ बन्से घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ५७ वर्षीय दावा शेर्पा सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएका छन् । एभरेस्ट एक्सपिडिसन अन्तर्गत क्याम्प–२ मा कुकको कामका लागि गएका शेर्पा विगत ५–६ दिनदेखि सम्पर्कविहिन बनेका छन् । आरोहण यामको अन्तिममा उनि हराएका हुन् ।
परिवारका अनुसार उनी हिमालयन ट्राभर्स एडभेन्चर प्रालिमार्फत सगरमाथा क्षेत्रमा गएका थिए । सामाजिक सञ्जालमा पासाङ दावा शेर्पाले सार्वजनिक गरेको विवरण अनुसार शेर्पा क्याम्प–३ बाट क्याम्प–२ फर्किने क्रममा सम्पर्कविहीन भएका हुन् । स्थानीयस्तरमा ‘पान दावा’ वा ‘हिलारी दावा’ नामले परिचित उनको अवस्थाबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।
आफन्तका अनुसार शेर्पालाई क्याम्प–२ बाट तल झारिएको हो वा अन्यत्र पठाइएको हो भन्नेबारे समेत स्पष्ट जानकारी दिइएको छैन । परिवारले कम्पनीले समयमै खोजी तथा आवश्यक जानकारी नदिएको आरोप लगाएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी अनुसार कतिपयले उनलाई दोस्रो शिविर आसपास देखेको बताएका छन् भने केहीले यलो ब्यान्ड क्षेत्रमा अन्तिम पटक देखिएको उल्लेख गरेका छन् । उनीसँग रहेका पोलिस आरोही भने उनीभन्दा अगाडि नै झरिसकेको बताइएको छ ।
दावा शेर्पा मूलतः कुकका रूपमा क्याम्प–२ पठाइएकाे भए पनि कम्पनीको गाइड अभावका कारण गाइडको भूमिकामा पठाइएको आरोप समेत लागेको छ । तर यस विषयमा कम्पनीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । दावाको श्रीमती र एउटा छोरी छिन् ।

प्रतिक्रिया