ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ स्थित शिवालय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक र खेल सामग्री सहयोग प्राप्त भएको छ । समाजसेवी मिङ्मा डी शेर्पा र फ्रान्सेली नागरिक एड्घारमार्फत करिब चार लाख रुपैयाँ बराबरका शैक्षिक र भाैतिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
९१ जना विद्यार्थीलाई कापी, पेन्सिल लगायत शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक ङावा शेर्पाले जानकारी दिए । साथै फलामे पिङ, बास्केटबल, भलिबल र ब्याडमिन्टन लगायत खेल सामग्री पनि उपलब्ध गराइएको छ ।
विद्यालयका अनुसार ट्रस्ट निर्माणका लागि करिब ३ लाख ५० हजार रुपैयाँ बराबरका सामग्री समेत सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा समाजसेवीद्वय शेर्पा र एड्घारले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले सामग्री प्रदान गरिएको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहयोग प्राप्त भएपछि विद्यालय प्रशासन, पदाधिकारी तथा स्थानीयवासीले दाताद्वयलाई सम्मान गरेका छन् ।

प्रतिक्रिया