काठमाडौं । सगरमाथाको अत्यन्त जोखिमपूर्ण ‘डेथ जोन’ क्षेत्रमा करिब एक सातासम्म सम्पर्कविहीन रहेका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
खिजीदेम्बा गाउँपालिका–६ बन्से घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ५७ वर्षीय शेर्पालाई बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को फोहोर व्यवस्थापन टोलीले खुम्बु आइसफल क्षेत्र अन्तर्गत क्र्याम्पोन पोइन्ट नजिक जीवित फेला पारेको हो । उनी हिउँमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिएका थिए ।
उद्धारपछि उनलाई साेलुखुम्बुकाे गोरक्ष हुँदै उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको हो । एसपीसीसीका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाका अनुसार शेर्पा शीतदंशबाट पीडित छन् उनकाे अवस्था गम्भीर छ ।
स्थानीयस्तरमा ‘पान दावा’ तथा ‘हिलारी दावा’ नामले परिचित शेर्पा हिमालयन ट्राभर्स एडभेन्चर प्रालिमार्फत एभरेस्ट एक्सपिडिसनमा क्याम्प–२ मा कुकको कामका लागि गएका थिए । गाइड अभावका कारण उनलाई क्याम्प–३ सम्म पठाइएको र त्यहीँबाट फर्किने क्रममा सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।
यसैबीच, शेर्पाकी पत्नी दामु शेर्पाले आफ्नो पतिलाई डेथ जोनमा एक्लै छोड्ने र उद्धारमा लापरवाही गर्ने जिम्मेवार पक्षमाथि कानुनी कारबाहीको माग गरेकी छन् । उनले सरकार र सम्बन्धित निकायले समयमै खोजी तथा उद्धारमा चासो नदिएको आरोपसमेत लगाएकी छन् ।

प्रतिक्रिया