४९ वर्ष पछि घर फर्किए रागादिपका ७१ वर्षिय खरबहादुर

४९ वर्ष पछि घर फर्किए रागादिपका ७१ वर्षिय खरबहादुर



२२ वर्षको युवा अवस्थामा परदेशीयका साविक रागादिप गाउँ विकास समिति हाल मोलुङ गाउँपालिका–८ का खरबहादुर राई ७१ वर्षको वृद्ध अवस्थामा घर फर्किएका छन् । २०३२ सालमा परदेश लागेका राई ४९ वर्ष पछि घर फर्किएका हुन् ।
रोजगारीको शिलशिलामा धरान, काठमाण्डौ, पोखरा, स्याङ्जा, लुम्ले, त्रिशुली हुदै लम्जुङ पुगेका राई ४९ वर्ष पछि गाउँ फर्किएका हुन् । राई लामो समय सम्म लमजुङ जिल्लाको राईनाथ नगरपालिका–१ मा ज्याला मजदुरी गरेर बसेका थिए । उनको अवस्था कमजोर बन्दै गएको थियो ।
राई लम्जुङ जिल्लामा रहेको र गाउँ फर्किन चाहेको बारे सिन्धुलीको फिक्कल गाउँपालिका–६ का दिल राईले भिजन एफएम ओखलढुंगालाई खबर गरेका थिए । लम्जुङको राईनाथ नगरपालिका–१ का साथी मार्फत खरबहादुरको बारेमा जानकारी पाएका राईले भिजन एफएमलाई खबर गरेका हुन् ।
खरबहादुरको अवस्था बारे भिजन एफएमले मोलुङ गाउँपालिका–८ राँगादिपका वडाअध्यक्ष सुधिर राईलाई जानकारी गराएको थियो । त्यसपछी राईनाथ नगरपालिका–१ लम्जुङका वडाअध्यक्ष विष्णु प्रसाद पौडेल र नेपाल प्रहरी र स्थानियको समन्वयमा राईलाई उद्धार गरी ओखलढुंगाको रागादिप घर ल्याईएको वडाअध्यक्ष सुधिर राईले बताए ।
उनलाई परिवारको जिम्मा लगाईएको वडाअध्यक्ष राईले जानकारी दिए । अहिले कागजात मिलाएर खरबहादुर राईलाई सामाजिक सुरक्षा भत्ता दिलाउने प्रक्रिया थालिएको वडाअध्यक्ष राईले जानकारी दिएका छन् । राईकाे बाबु आमाकाे निधन भईसकेकाे छ । हाल उनी भाईकाे घरमा बसेका छन् ।