ओखलढुंगाका महिलाहरुले उद्यमी बन्ने महिलालाई स्थानीय तहले सहयोग गर्नुपर्ने माग राखेका छन् । ओखलढुंगा सदरमुकाममा भएको पालिका स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम कार्यक्रममा महिलाहरुले यस्तो बताएका हुन् ।
परिवर्तनशिल महिला सामुदायिक संस्थाको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिको सभाहलमा सार्वजनिक सुनुवाई भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले योजना तर्जुमाको बेला महिलाहरुलाई सहभागी गराउनपर्ने, कृषिबाट पाउने अनुदानमा लक्षित वर्गको पहुँच नपुगेको, महिलाहरुलाई उद्यमी बनाउने कुरामा पालिकाले ध्यान दिनुपर्ने लगायतका विषयमा गुनासो र सुझाव राखेका थिए ।
सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलनको सुदृढीकरण अन्तर्गत दोस्रो चरण सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको परिवर्तनशिल महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिइन् । कार्यक्रममा परिवर्तनशिल सामुदायिक संस्थाले गरेको काम र आगामी योेजनाबारे समेत जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले यस किसिमको कार्यक्रम महिला हक हित संरक्षण र जागरणको लागि जरुरी रहेकोले निरन्तरता दिनुपर्ने बताए ।
यस्तै सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले लैगिक हिंसा अन्त्य र महिला सशक्तिकरणको लागि नगरपालिकाले विभिन्न काम गरिरहेको बताउँदै आगामी दिनमा महिला सबलीकरणमा नगरले थप काम गर्ने प्रतिवद्धता जनाए । सार्वजनिक सुनुवाईमा उठेका गुनासो र जिज्ञासा समाधानका लागि सरोकारवालाले तीन प्रतिवद्धता जनाएका छन् ।
जसमा नगरपालिकाबाट हुने अनुदानका कार्यत्रक्रमबारे नागरिकलाई सुचित गर्न एक महिना अगावै विभिन्न माध्यममार्फत सुचना सम्प्रेषण गराउने, लघु उद्यमी महिलालाई बिना धितो कर्जा उपलव्ध गराउन पहल गर्न जिल्लामा रहेका बैङ्कहरुसंग आवश्यक छलफल र समन्वय गर्ने र जिल्ला अस्पताल रुम्जाटारमा एमडिजिपी डाक्टरको ब्यवस्थापनको लागी सम्बन्धित निकायसंग निरन्तर छलफल र पहल गर्ने प्रतिवद्धता जनाइएको छ ।
जिल्ला समन्वय समिति उपप्रमुख तारा कार्कीको विशेष आतिथ्यता र नगरप्रमुख खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि जनप्रतिनिधि विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार र सरोकारवालाको सहभागिता थियो ।
प्रतिक्रिया