खिजीदेम्बाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार

खिजीदेम्बाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार



ओखलढुंगाको खिजीदेम्बाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पतालको मानसिक स्वास्थ्य परियोजनाको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा २७ पुरुष र २२ जना महिला गरि ४९ जनाले उपचार सेवा लिएका हुन् ।
खिजीफलाटे हेल्थपोष्टमा भदौ ५ र ६ गते सञ्चालन भएको शिविरमा ४० जना नियमित औषधि सेवन गरिरहेका र नौं जना नयाँ बिरामीले उपचार तथा परामर्श सेवा लिएको समुदायमा आधारित पुनरस्थापना कार्यक्रम (सीबीआर)को खिजिदेम्बाका टिम लिडर प्रेम जीसीले जानकारी दिए ।
शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासिनता (डिप्रेसन), तनाव, इन्जाइटी तथा छारेरोग भएका गरि ४९ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएका थिए ।
शिविरमा मानसिक रोग विशेषज्ञ बिना सिंह गरुङ र खिजीफलाटे आधारभूत अस्पतालका डा. चन्द्र कुमार राईद्वारा मानसिक बिरामीहरुको चेकजाँच र परामर्श प्रदान भएको थियो भने औषधि वितरण भएको थियो ।
मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुलाई गाउँगाउँमै गएर उपचार सेवा तथा परामर्श गर्ने उद्वेश्यले शिविर सञ्चालन गरिएको जीसीले बताएका छन् । सोही अवसरमा खिजीदेम्बा गाउँपालिकाभरिका स्वास्थ्यकर्मीहरलाई पालिकामा मानसिक समस्यासँग सम्बन्धित बिरामीको अवस्था र न्यूनीकरणको लागि स्वास्थ्यकर्मीले निभाउनुपर्ने भूमिकाको बिषयमा अभिमूखीकरण समेत गराइएको थियो ।
खिजीदेम्बा गाउँपालिकाले पालिकाका मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई निःशुल्क औषधि वितरण गर्ने गरेको छ ।