किरात राई वाम्बुले समुदायले मनाए ढ्वाङकुम चाड

किरात राई वाम्बुले समुदायले मनाए ढ्वाङकुम चाड


भिजन समाचार
0
Shares

किरात राई वाम्बुले समुदायले आफ्नो महान् चाड ढ्वाङकुम भव्यताका साथ मनाएका छन् । हरेक वर्ष जनैपूर्णीको दिन मनाईने ढ्वाङकुम चाढ वाम्बुले राईहरुको बाहुल्यता भएको गाउँहरुमा भव्यताका साथ मनाएका हुन् ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको उँबु, उदयपुर, वाक्सा लगायतका क्षेत्रका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।

उभौलीपर्वको समापनका रूपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुको ढ्वाङकुमटारमा सामूहिक रूपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रूपमा यो पर्व मनाउने चलन छ । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ ।

उदयपुर, सुनसरी, मोरङ, ललितपुरको सानो हात्तीवन लगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रूपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाएका छन् । प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगा भैँसीको मासु थुन्सेमा लगेर सामूहिक रूपमा पूजा गर्ने चलन रहेको राज्य लक्ष्मी माध्यमिक विद्यालय मानेभञ्ज्याङ गाउँपालिका ३ का स्थानिय माहाजित राईले बताए । बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो पुजारीहरुले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन रहेको राईको भनाइ छ ।

पूजास्थलमा नयाँ अन्नबालीका रूपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पूजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन् । पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरूमा खनजोत गर्न रोक लगाउने गरिन्छ ।

खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरू एकै ठाउँ जम्मा भएर सँगिना नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन् ।

यस सँगै वर्णालु, चाँगेस्थान लगायत जिल्लाको विभिन्न देवी देवालयमा जनैपुर्णीमाको अवसरमा मेला लागेको छ ।