दुधकुण्डमा मेलामा सेनाले राखेको शिविरमा ८३ जनाले लिए सेवा

दुधकुण्डमा मेलामा सेनाले राखेको शिविरमा ८३ जनाले लिए सेवा

अशक्त वृद्धलाई बाेकेरै कुण्ड दर्शन गराइयाे



नेपाली सेनाकाे दुर्गा बक्स गण ओखलढुंगाले सोलुखुम्बुको दुधकुण्ड मेलामा राखेको स्वास्थ्य शिविरमा ८३ जनाले सेवा लिएका छन् । जनैपुर्णिमाको अवसरमा सोमबार दुधकुण्ड मेलामा शिविर राखेर दर्शनार्थीलाई गणले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

शिविरमा ४८ जना पुरुष, ३२ जना महिला र तीन जना विदेशी नागरिकले स्वास्थ्य जाँचलगायतको सेवा लिएको दुर्गा बक्स गण ओखलढुंगाका गणपति विजय प्रकाश आङदेम्बेले भिजनलाई जानकारी दिए । दुधकुण्ड मेलामा बर्षेनी सैयौँ दर्शनार्थी पुग्ने गरेको र मेलामा वृद्धवृद्धा पनि धेरै हुने तथा ‘हाई अल्टिच्युड’को कारण लेक लागेर स्वास्थ्य समस्या देखिनसक्न जोखिम कम गर्न गणले  प्रहरी, प्रशासन, पालिका र  अस्पतालसँगको समन्वयमा शिविर सञ्चालन गरेको गणपति आङदेम्बेको भनाई छ ।

नेपाली सेनाका जवानहरुले ८३ बर्षीय वृद्ध जगत बहादुर बिष्टलाई बाेकेरै कुण्ड दर्शन गराएका छन् । सिन्धुपाल्चोकबाट दुधकुण्ड दर्शनको लागि आएका बिष्टलाई अशक्तताका कारण दुधकुण्ड पुग्न नसक्ने अवस्था देखिएपछि सेनाको टोली बोकेरै कुण्डसम्म लगेकाे थियाे ।

अघिल्लो बर्ष पनि गणले शिविर राखेर दर्शनार्थीलाई सेवा प्रदान गरिएकाे र यस बर्ष पनि दर्शनार्थी र आम नागरिकको सेवाका लागि शिविर सञ्चालन गरिएको सेनाले जनाएकाे छ ।

धार्मिक महत्व बोकेको प्राकृतिक सुन्दरताले भरिएको दुधकुण्डमा हरेक बर्ष जनै पूर्णिमाको अवसरमा लाग्ने मेलामा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायत जिल्लाका सैयौँ दर्शनार्थी दुधकुण्ड पुग्ने गरेका छन् ।

सोमबार पनि सैयौ दर्शनार्थीले दुधकुण्डको दर्शन गरेका छन् ।

जनैपूर्णिमाकाे अवसरमादुधकुण्ड, चाँगेस्थानसहितका विभिन्न शक्तिपिठमा मेला लागेकाे थियाे ।