ठुलाछापमा बाघ आतङ्क !

ठुलाछापमा बाघ आतङ्क !


भिजन समाचार
3k
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठुलाछाप लगायतका क्षेत्रमा बाघ र बन्यजन्तुको आतङ्क बढेको छ । जङ्गलबाट गाउँ पसेका बाघ र चितुवाले खोरका खसीबाख्रा, सुँगुर र चराउन लगेका पशुचौपायालाई मार्ने घाइते बनाउने गरेपछि स्थानीय आतङ्कित बनेका हुन् ।

विगत दुई साता अघि देखि वडाका विभिन्न स्थानमा स्थानीयले बाघ देखेको र पशुचौपायामा पनि क्षति पुर्याइरहेको सिनपा–२ का वडा अध्यक्ष बसन्त कटवालले बताए ।

उनका अनुसार गयराति स्थानीय रुद्रबहादुर कटवालको खोरमा रहेको अन्दाजी मुल्य ३० हजार मुल्य बराबरको माउ बाख्रो बाघले आक्रमण गरि मारेको छ ।

यस्तै केही दिन अघि पनि स्थानीय ज्ञान बहादुर चर्मकारले पालेको बंगुर खोरबाटै हराएको थियो भने निशंखेका श्रेतेष श्रेष्ठको खसी नागीडाँडा सामुदायिक बन नजिकै चराउन लाँदा बेलुका ५ बजेको समयमा बाघले मारेको अवस्थामा फेला स्थानीयले पारेको वडा अध्यक्ष कटवालले जानकारी दिए ।

हिमालय माध्यमिक विद्यालय निशंखेको विद्यालय परिसर र अन्य विभिन्न समयमा वडाका विभिन्न स्थानमा जोडी बाघ देखेको र बाइकमा यात्रा गरेको बेला पनि बाघले आक्रमण गर्न खोजेको स्थानीयले बताएका छन् । पछिल्लो समय बाघ आतंक बढीहरहेकोले सतर्कता अपनाउन वडा कार्यालयले वडाबासीमा आग्रह गरेको छ ।

जोखिम न्यूनीकरणका लागि वडाले सरोकारवाला निकायसँग समन्वय गरेर छिट्टै ठोस कदम चाल्ने वडा अध्यक्ष कटवालले बताएका छन् । बन्यजन्तुको आक्रमणबाट पशुचौपायामा क्षति बेहोरेका कृषकलाई राहत दिने बिषयमा पनि पहल भइरहेको उनको भनाई रहेको छ ।