ओखलढुंगाको मोलुङ गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोहीलाई सम्मान गरेको छ । सगरमाथाको सफल आरोहण गर्ने गाउँपालिकाका आठ जना युवालाई गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले काठमाण्डौमा सम्मान कार्यक्रमको आयोजना गरेर विभिन्न मितिमा सगरमाथा चढेका युवालाई सम्मान–पत्र, खादाँ र मालाले सम्मान गरिएको छ । मोलुङ गाउँपालिकाका सगरमाथा आरोही छेपाल शेर्पा, वाङ्डा शेर्पा, आङ्बाबु शेर्पा, राम बहादुर मगर, सबिन मगर, डेन्डी शेर्पा, शेरे शेर्पा र तेन्जिङ शेर्पालाई संविधान सभा सदस्य यज्ञराज सुनुवार र गाउँपालिका अध्यक्ष उत्तम राईले लगायतले सम्मान गरेको गाउँपालिकाका रोजगार संयोजक माधव कार्कीले जानकारी दिए ।
बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा पुर्व सांसद सुनुवारले सगरमाथाको सफल आरोहण गरेका युवालाई आगामी दिनमा पनि पालिका, जिल्ला र देशको नाम उच्च राख्ने उर्जा मिलोस भन्दै शुभकामना दिएका थिए । गाउँपालिका अध्यक्ष राईले पनि आरोहीहरुलाई शुभकामना दिदै प्रोत्साहनको लागि सम्मान गरिएको बताएका छन् ।
सम्मान कार्यक्रममा मोलुङ गाउँपालिका संस्थापक अध्यक्ष मणिराज राई लगायत जनप्रतिनिधि, सरोकारवालाहरुको सहभागीता थियो ।
प्रतिक्रिया